धरान; स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपाद्धारा आयोजित कार्यक्रममा अपमान गरेको भन्दै नेकपाका नेता भीम आचार्यको सामाजिक सञ्जाल फेसबुकमा चर्को आलोचना भइरहेको छ ।

फागुन ३ शनिबार नेकपाले स्वर्गीय पुर्वमेयर राई र स्वर्गीय नेकपा नगर कमिटि सदस्य देवलक्ष्मी प्रधानप्रति पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश नं १ इञ्चार्ज भीम आचार्य थिए । श्रद्धाञ्जली सभा सकिएको भोलिपल्ट फागुन ४ गतेको मितिमा पूर्व मेयर स्वर्गीय ध्यानबहादुर राई स्मृति ग्रन्थ प्रकाशन एवं सालिक स्थापना अभियानका संयोजक महेश श्रेष्ठले नेता आचार्यले मानवीय संवेदनाको पनि ख्याल नगरी आलोचना र अपमान गरेको भन्दै जारी गरेको विज्ञप्ती समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । श्रेष्ठले विज्ञप्ती पोष्ट गरेपछि नेता आचार्यको आलोचना भइरहेको छ भने विभिन्न अनलाइन मिडियाहरुले समाचार पनि प्रकाशन गरिरहेका छन् ।

आज पुनः समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुब लिम्बुले पनि सोही आसयको विज्ञप्ती जारी गर्दै नेता आचार्यको चर्को आलोचना गरेका छन् । दुवै विज्ञप्तीमा आचार्यले प्रमुख अतिथिको मन्तव्यको क्रममा स्वर्गीय मेयर राईको कटुआलोचना र अपमान गरेको उल्लेख छ । नेता आचार्यले स्वर्गीय राईलाई घरघर डुलेर हिड्ने, अध्ययन, विश्लेषण र सही निर्णय गर्न नसक्ने फिरन्ते क्रान्तिकारी, जग्गा दलाली गरेर खाने दलेको संज्ञा दिएको पनि विज्ञप्तीमा दाबी गरिएको छ । राईलाई नीति र सिद्धान्तको ख्याल नराख्ने पिछलग्गु र जातिवादी थिए भन्ने जस्ता अत्यन्त तुच्छ, अमर्यादित, असमाजिक र घोर संकीर्णवादी शब्द नेता आचार्यले प्रयोग गरेको पनि विज्ञप्तीमा उल्लेख छ । दुवै विज्ञप्तीमा नेता आचार्यको अभिव्यक्तप्रति आपत्ति प्रकट गर्दै सार्वजनिकरुपमा माफी माग्न पनि माग गरिएको छ । स्वर्गीय मेयर राई २०४९ सालमा तत्कालिन नेकपा एमालेबाट धरानको मेयरमा विजयी भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीको केन्द्रीय सदस्य थिए । उनको क्यान्सरबाट हालै मात्र निधन भएको थियो ।

आसयलाई गलत तरिकाले अतिरञ्जित गरियो: नेकपा अध्यक्ष सवेदी

नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले भने नेता आचार्यको भनाई र आसयलाई गलतरुपमा अतिरञ्जित र बङ्ग्याएर प्रचारमा ल्याइएको बताएका छन् । नेता आचार्यले मन्तव्यको क्रममा स्वर्गीय मेयर राई काठमाण्डौं गएपछि जग्गा व्यापार थालेको र जग्गा व्यापारीलाई दले भन्ने गरेकोले मर्यादित पेशा नभएकोले छोड्न आग्रह गरेको बताएको अध्यक्ष सुवेदीको दाबी छ ।

‘स्वर्गीय ध्यानबहादुर राई काठमाण्डौ गएपछि जग्गा व्यापारमा लाग्नुभयो, जग्गा व्यापारीलाई दले भन्थ्यो । त्यसैले त्यो मर्यादित पेशा नभएकोले छोड्नुस् र राजनीतिमा नै आउनुस् भनेको थिएँ भनेर नेता आचार्यले भन्नु भएको थियो,’अध्यक्ष सुवेदीले क्लिकधरानसँग प्रतिक्रिया दिदै भने,‘तर उहाँको भनाई र आसयलाई गलत अर्थमा प्रचारमा ल्याउने काम भयो, वास्तविकता त्यस्तो होइन ।’ नेता आचार्यले स्वर्गीय मेयर राईको राजनीतिक जीवनको बिषयमा चर्चा गर्ने क्रममा केही कमीकमजोरीको बिषयमा पनि सकरात्मकरुपमा नै चर्चा गरेको भएपनि अहिले त्यसैलाई प्रोपगण्डा बनाउन खोजेको अध्यक्ष सुवेदीले दाबी गरे ।