काठमाडौँ: सेक्युरिटी प्रेस स्थापना गर्न स्वीस कम्पनीको नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएको छ ।
विभिन्न अनलाइन मिडियामार्फत मन्त्री बास्कोटा र स्वीस कम्पनीको नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीचको कुराकानीको टेप सार्वजनिक भएको हो । समाचारहरुका अनुसार दुवैबीच कमिसनको लागि डिल भएको उल्लेख गरिएको छ । यद्यपी, उक्त टेप वास्तविक भए नभएको पुष्टि भइसकेको छैन । आरोप लागेका मन्त्री बास्कोटाले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्वीस कम्पनीले ठेक्का लिने प्रयास गरेको थियो । त्यसक्रममा मन्त्री बास्कोटा र मिश्रबीच भएको संवाद मिश्रले नै रेकर्ड गरेको अनुमान छ । अहिले उक्त प्रेसको ठेक्का स्वीस कम्पनीलाई नदिएर जर्मन कम्पनीलाई दिन लागिए पछि मिश्रले नै अडियो क्लिप अनलाइन मिडियाहरुमार्फत सार्वजनिक गरिदिएका हुन् । उनले यो अडियो झण्डै डेढ महिना अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि पुर्याएको बताइएको छ ।
मिश्रका अनुसार जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर ठेक्का सम्झौता गर्न लागिएको छ । नेपालमै इ–पासपोर्ट छपाई गर्नका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको हो । स्वीस कम्पनीले प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो । स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको प्रेस कमिशनको कुरा नमिलेपछि विभिन्न वहाना बनाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको बताइएको छ । अनलाइन मिडियाहरुसँग कुरा गर्दै स्वीस कम्पनीका एजेण्ट मिश्रले नियम संगत तरिकाबाट आउने कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बाँस्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको बताएका छन् ।