धरान: विश्वयुद्धमा विभिन्न मुलुकमा ज्यान गुमाएका वीर गोर्खाली सेनाहरुको स्मृतिमा आगामी चैत तेस्रो साता धरानमा दौड हुने भएको छ ।
गोर्खा सेमिट्रिज ट्रष्ट नेपालको आयोजनामा चैत २२ गते प्रथम गोर्खा ट्रेलब्लेजर हुने भएको हो । ट्रष्टले धरानमा पत्रकार सम्मेलन गर्दै पुर्खा दिवसको अवसर पारेर यो दौड गर्न लागेको जानकारी दिएको छ । ट्रष्टका अध्यक्ष महेन्द्र राईका अनुसार प्रदेश नं १ सरकारको सहयोगमा यसपाली आयोजना हुनेछ । सरकार र स्थानीयको सहयोग भएमा आगामी बर्षहरुमा पनि निरन्तर धरानमा नै गर्न सकिने उनले बताए । ‘हामी हरेक बर्ष नै आयोजना गछौं, तर अर्को पटक धरानमा नै नहुन पनि सक्छ,’उनले भने,‘प्रदेश सरकारबाट सहयोग भयो र धरानबासीहरुको साथ पायौं भने यही नै पनि हुनसक्छ ।’
दौडमा स्वदेशी तथा विदेशी ३ सयको हाराहारीमा धावक धाविकाहरुले सहभागी हुनेछन् । उनीहरुलाई टि सर्ट, मेडल, प्रमाण पत्र दिइनेछ । दौड १२ देखि १५ किलोमिटर दुरीको हुनेछ भने १६ बर्ष माथि उमेर समुहकाहरु मात्र सहभागी हुन पाउनेछन् ।‘डाँडाकाडा हुनुपर्ने भएकोले ट्रयाक हेर्ने काम भइरहेको छ,’उनले भने । महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पनि दिइने अध्यक्ष राईले जानकारी दिए ।
पुर्खा दिवसकै अवसरमा ट्रष्टले चैत १५ गते काठमाण्डौंमा कविता गोष्ठी आयोजना गर्नेछ भने २३ गते धरानमा पुर्खा दिवस मनाउने जनाएको छ । ट्रेलब्लेजर हङकङमा सन् २००६ देखी शुरुवात भएको थियो । ट्रष्ट नेपालमा गत बर्ष मात्र स्थापना गरिएको हो ।