धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको निधन भएको छ ।

राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा आज दिउँसो करिब अढाई बजे निधन भएको हो । हस्पिटलका महाप्रबन्धक विजय रिमालले पलिखेको निधनको पुष्टि गरे । ‘उहाँको निधन भएको हो, भोली सोमबार बिहान ५ बजे परिवारले शव धरान लैजाने भएको छ,’रिमालले भने ।

पलिखेको उपचारको लागि उनीसँगै हस्पिटलमा रहेका धरानका हरिबहादुर दाहालले पनि पलिखेको निधन भएको बताए । ‘उहाँको निधन भएको हो, भोली बिहानै शव लिएर धरान हिड्छौं,’दाहालले मोवाइल सम्पर्कमा भने,‘शव मेडिसिटिकै मर्चरीमा छ ।’
दाहाल स्वर्गीय झण्डै डेढ महिनादेखि उपमेयर पलिखेसँग राजधानीमा थिए । उनका अनुसार पलिखेको मृगौला र पेटको अल्सर समस्या देखिएको थियो । पछि, प्रेसरमा बढेर टाउकोमा रगत जमेपछि ४ दिनअघि अप्रेशन गरिएको थियो । ‘प्रेसर कन्ट्रोल नै भएन,’दाहालले भने ।

मृतक पलिखे २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उपमेयरमा विजयी भएका थिए । तर, पछि मेयर र पार्टीसँग मतभेद बढेपछि उनले उपमेयरबाट राजिनामा दिएका थिए । पछिल्लो समय उनी जनसरोकार मञ्च नेपाल नामक संस्था स्थापना गरेर धरानको समसामयिक तथा विकासका मुद्दाहरुमा आवाज उठाउने गरेका थिए । उपमहानगरपालिकाको विकृति, भ्रष्टचारविरुद्धमा जनअभियानको नेतृत्व नै गरेका थिए । उनले सर्दु जलाधार क्षेत्र बचाउनको लागि अभियानको नेतृत्व गरेका थिए ।