एजेन्सीः विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ ।

अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २६९९ पुगिसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका छन् । चीनमा २६६३ जनाको मृत्यु भएको छ भने अन्य मुलुकमा ३६ जनाको मृत्यु भएको छ । विश्वभर ८० हजार १ सय ४८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।

चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक दक्षिण कोरिया हो । कोरियामा ८९३ जनामा कोरोनाको संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ७ पुगिसकेको छ । कोरियामा उच्च सतर्कता अपनाउदै स्थानीय अधिकारीहरुले केही नगरपालिकामा विभिन्न खालका प्रतिबन्धहरु लगाइएको छ । यस्तै, पछिल्लो रिपोर्ट अनुसार इरानमा ६० जनामा संक्रमण देखिएको छ भने १२ जनाको मृत्यु भइसकेको छ ।

चीनमा हालसम्म ७७ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यीमध्ये २७ हजार ३ सय २३ जना विरामीहरु निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । इटालीमा २ सय २९ जना, जापानमा १ सय ५९ जना, सिंगापुरमा ९० जना, हङकङमा ८१ जना, अमेरिकामा ५३ जना, थाइल्याण्डमा ३५ जना, ताइवानमा ३० जना, अष्ट्रेलियामा २२ जना, मलेसियामा २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको रिपोर्टहरुमा उल्लेख छ ।

korona1

यस्तै, जर्मनीमा २२, भियतनामा २२, बेलायतमा १३, युएईमा १३, फ्रान्समा १२, क्यानडामा ११, मकाउमा १०, कुवेतमा ५, स्पेनमा ३, फिलिपिन्समा ३, भारतमा ३, बहराइनमा २, इजरायलमा २, ओमानमा २, रुसमा २ र अफगानिस्तान, बेल्जियम, कम्बोडिया, इजिप्ट, फिनल्याण्ड, इराक, लेबनान, नेपाल, श्रीलंका र स्वीडेनमा एक एक जनामा यो भाइरस देखिएको छ।

विश्व स्वास्थ्य संगठनले विश्वभर महामारी फैलिने सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक तयारी गर्ने समय आएको जनाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले दक्षिण कोरियाका लागि तेस्रो तहको भ्रमण चेतावनी जारी गरेको छ। केन्द्रले अनावश्यक रुपमा कोरिया भ्रमण नगर्न सचेत गराएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् १९४९ मा जनगणतन्त्र स्थापना भएयता रोकथाम र नियन्त्रणका लागि सबैभन्दा कठिन समय भएको बताएका छन् । उनले कोरोनाका कारण देशको अर्थतन्त्रमा ठूलो असर परेको बताएका छन् ।