धरान: एमसिसि अर्थात मिलेनियम च्यालेञ्ज कर्पोरेशनबारे सर्वसाधारण नेपालीहरु मात्र होइन, नेताहरु पनि विभाजित छन् । कोही नेताहरु एमसिसि पारित गर्नुपर्छ भनिरहेका छन् भने कोही राष्ट्रघाती भएकोले खारेज गर्नुपर्छ भनिरहेका छन् ।
राजनीतिक चक्रब्युहमा फसेको एमसिसिबारे सत्तारुढ दल नेकपाले नै निर्णय गर्न सकेको छैन । नेकपाकै उच्च नेताहरु एमसिसि नेपाली राष्ट्रियताको लागि खतरा बताइरहेका छन् । तर, प्रधानमन्त्रीलगायतका नेताहरु भने एमसिसि पारित हुने अभिव्यक्ति दिइरहेका छन् । एमसिसिबारे यस्तो अन्योलपुर्ण स्थिति छ । संसदबाट एमसिसि पारित हुन्छ या हुदैन ? यसै भन्न सकिन्न ।
राष्ट्र नै एमसिसिबारे विभाजित भइरहदा धरानमा भने एक व्यक्ति एमसिसि खारेज गर्ने माग लिएर प्रर्दशनमा उत्रिएका छन् । उनी एक्लै छन्, उनको यो अभियानले सरकारको ध्यान तान्न सक्दैन, तर उनलाई मतलव छैन । उनी एमसिसिबारे आम जनताले थाह पाउनुपर्छ भन्ने चाहन्छन् ।
यी व्यक्ति हुन्, धरान ७ का वासु चालिसे । उनी एक्लै एमसिसि खारेज गर्नुपर्छ भन्दै प्रर्दशनमा उत्रिएका छन् । एक हातमा राष्ट्रिय झण्डा र एमसिसि सम्झौताको बुँदाहरु प्ले कार्डमा बोकेका छन् । अर्काे हातमा उनले ब्यङ्ग्य चित्र बनाएका छन्, र त्यसमा एमसिसि खारेज गरौं भन्ने नारा पनि लेखेका छन् । ‘हामी जनताले एमसिसि के हो भन्ने थाह पाउनुपर्छ । एमसिसिमा कस्ता कस्ता बुँदाहरु छन्, र त्यसले नेपाललाई के फाइदा, घाटा हुन्छ भन्ने बुझ्नुपर्छ,’प्ले कयर्ड देखाउदै उनी भन्छन्,‘यी बुँदाहरु पढ्नुस्, के एमसिसि पारित हुनुपर्छ ?’
चालिसे यसरी एक्लै सडकमा निस्किएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी विभिन्न मुद्दामा यसरी नै प्रर्दशनमा सडकमा निस्किने गरेका थिए । मेडिकल माफियाविरुद्ध डा.गोविन्द केसीले आमरण अनसन गर्दा पनि उनले यस्तै प्रर्दशन गरेर डा.केसीको मुद्दाबारे आम जनताको ध्यान तान्न सफल भएका थिए । निर्वाचनको बेला पनि उनले भ्रष्टचारविरोधी उम्मेदवारलाई जिताउन आग्रह गर्दै प्रर्दशन गरेका थिए ।