काठमाडौं: एक बर्षअघि ताप्लेजुङको पाथीभारा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ । मन्त्रालयले सार्वजनिक गरेको अन्तिम प्रतिवेदन अनुसार दुर्घटनाको प्रमुख कारणमा प्रतिकुल मौसम, अगाडिको सिटमा क्षमताभन्दा बढी यात्रु एवं चालकको आत्मविश्वास नै मुख्य कारण रहेको उल्लेख छ । सरकारले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमसहित नेपाल आर्मीका सहायक रथी दीपकप्रसाद बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव थिए । 

प्रतिवेदनमा पूर्वनिर्धारित गन्तव्य तत्काल परिवर्तन गरिनु, अगाडिको सिटमा पाइलटसहित दुईजना मात्र हुनुपर्नेमा तीनजना हुनु र प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको निष्कर्ष छ । गत फागुन १५ गते पाथीभारा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर भिरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका सीईओ तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।