धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याइएकी इटहरीकी एक गर्भवती महिला र बच्चा दुवैको मृत्यु भएको छ ।

आमा र बच्चाको मृत्यु भएपछि मृतकका आफन्तजनहरु आक्रोशित भएका छन् । उनीहरुले उपचारमा लापरवाही भएर आमा र बच्चा दुवैको मृत्यु भएको आरोप लगाएका छन् । इटहरीकी २५ बर्षीय गर्भवती लक्ष्मी बुढाथोकी थापा र बच्चाको मृत्यु भएको हो । गए राती बच्चा पेटभित्रै मृत्यु भएबो हो भने आमाको पनि मृत्यु भएपछि आफन्तहरु आक्रोशित छन् । मृतक बुढाथोकीलाई मंगलबार प्रतिष्ठानको प्रसुती वार्डमा ल्याइएको बताइएको छ ।

घटनाबारे अहिले मृतकका आफन्तजन र अस्पताल प्रशासन, गाइनोका चिकित्सकहरुबीच छलफल भइरहेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले मृतकका आफन्तजनहरुलाई घटनाबारे वास्ताविकता बुझाउन छलफल भइरहेको जानकारी दिए । 'आमा र बच्चाको मृत्यु भएको हो, किन त्यस्तो भयो भनेर आफन्तजनहरुलाई वास्तविकता बताउने भनिएको छ,'उनले भने ।

अस्पताल सहायक निर्देशक डा.विकास साहले मृतकका आफन्तहरुसँग छलफल भइरहेको बताए । बच्चाको पेटभित्रै मृत्यु भएको र नर्मल डेलिभरी गरेर मृत बच्चालाई निकाल्ने क्रममा आमाको पनि मृत्यु हुन पुगेको सम्बन्धित चिकित्सकहरुबाट जानकारी पाएको उनले बताए । 'घटनाबारे छलफल भइरहेको छ,'उनले भने ।