धरान: हिजोआज बच्चाहरु खेल्ने मैदान मासिदै गएको छ । घरमा पनि खेल्ने आँगन हुदैनन् । बच्चाहरु कि टिभिमा कार्टुन हेरेर बस्छन्, कि आमा बुबाको मोवाइलमा झुम्मिएका हुन्छन् । आमा बुबाहरु पनि बच्चाले दुःख दिन्छ भनेर मोवाइमा भिडियो देखाएर भुलाउने गर्छन् ।

चिकित्सकहरु भने अभिभावकहरुको यो व्यवहार उचित नभएको बताउँछन् । बच्चाहरुलाई टिभि वा मोवाइल खेल्न दिएर घरभित्र मात्र सिमित राख्दा स्वभाविकरुपमा हुनुपर्ने मानसिक र शारीरिक विकास नहुने चिकित्सकहरु बताउँछन् । यही कुरा बुझाउन वीपी कोइराला स्वास्थ्यज्ञ विज्ञान प्रतिष्ठानको नर्सिङ विभाग अन्तर्गत मास्टर नर्सिङ बाल विभाग दोस्रो बर्ष र बिएस्सी नर्सिङ तेस्रो वर्षका विद्यार्थीहरुले खेलौना सामग्री प्रर्दशनी गरेका छन् । प्रतिष्ठानको बच्चा वार्डमा उपचाररत विरामीका आफन्त एवं अभिभावकहरुलाई बालबालिकाहरुमा खेलकुदको महत्व कति हुन्छ भनेर बुझाउन शुक्रबार प्रर्दशनी गरिएको मेट्रोन उपेन्द्र यादवले बताए ।

मेट्रोन यादवका अनुसार विभिन्न उमेरका बालबालिकालाई उमेर उपयोगी खेलकुद सामाग्री प्रदर्शन गरिएको थियो । एक बर्षदेखि १५ बर्षका उमेरलाई उपयुक्त हुने शारीरिक तथा मानसिक विकासको लागि उपयुक्त हुने खेलौनाहरु प्रर्दशनी गरिएको उनले जानकारी दिए । कार्यक्रममा अस्पताल सहायक निर्देशक डा.विकास साह, बालरोग विभाग प्रमुख डा.प्रकाश पौडेल, डा.निशा केशरी भट्ट, प्रोफेसर रामानन्द चौधरीलगायत विभागका डाक्टरहरुको उपस्थिति रहेको थियो ।

bpkihs-child1

प्रर्दशनीमा राखिएका खेलौना सामग्रीहरु विद्यार्थीहरुले नै हातले तयार गरेका हुन् । कार्यक्रममा खेलकुदले बालबालिकाको शारीरिक, मानसिकरुपमा कति महत्व छ भन्ने शिक्षा अभिभावकलाई दिइएको थियो । ‘आजभोलीका बालबालिकाहरु खेल्दैनन्, उनीहरु मोबाइलमा धेरै समय बिताउछन्, त्यो भन्दा खेलकुदलाई प्रोत्साहन गर्नुपर्छ भनेर कार्यक्रम गरिएको हो,’मेट्रोन यादवले भने,‘घरमा नै बनाउन सकिने खालको खेलौनाहरु बनाइएको थियो ।’

अस्पताल सहायक निर्देशक डा.साहका अनुसार मोवाइल वा टिभिले बालबालिकाहरु घरभित्रै सिमित हुने र त्यसले बच्चाहरुको शारीरिक, मानसिक विकासमा गम्भीर असर पुग्ने बताउँछन् । ‘मोवाइलबाट निस्कने फ्रिक्वेन्सीले पनि असर पुग्छ । महत्वपुर्ण कुरा त बच्चाहरु घरभित्रै सिमित हुन्छन्, बाहिर निस्कनै मान्दैनन्,’डा.साहले भने,‘बच्चाहरु बाहिर खेल्दा जुन किसिमको शारीरिक, मानसिक विकास हुन्छ, त्यो हुदैन ।’

bpkihs-child2