धरान: नेपालमा कानुनले प्रतिबन्ध लगाएको गाँजाको खेतीलाई फुकुवा गरेर नियमन तथा व्यवस्थापन गर्ने विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।
उक्त विधेयक नेपाल सरकारका पुर्वकानुन न्यनय तथा संसदस्य मामिला मन्त्री शेरबहादुर तामाङले आज सोमबार विधेयक दर्ता गराएका हुन् । यो विधेयक तामाङले मस्यौदा गरेका हुन् । उनले गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता गराएका हुन् । सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै उनले ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ।
गाँजाको क्षेत्र व्यापक रहेको र औषधिय गुण भएकोले किसानहरुको मात्र नभै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने पुर्वमन्त्री तामाङले बताए। उनले गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवाहरु विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु पनि सिर्जना हुने दाबी गरे । विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधिय गुण हुने भनिसकेको अवस्थामा नेपालपनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने तामाङले बताए । नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने, गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बाल केन्द्रभन्दा १ किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ।
अमेरिका, क्यानडालगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । तर, नेपालमा भने गाँजा प्रतिबन्धित छ । कानुनले नै गाँजालाई लागुऔषध मानेकोले प्रहरीले हरेक बर्ष गाँजा खेती नष्ट गरिरहेको छ भने गाँजा बोकेको वा कारोबार गर्नेलाई पनि पक्राउ गरेर कानुनी कारबाही गर्ने गरेको छ । कानुनले प्रतिबन्ध लगाए पनि शिवरात्रीको दिन पशुपतिनाथको मन्दिरमा आउने बाबाजीहरुले भने गाँजा निर्वाधरुपमा प्रयोग गर्दै आएका छन् । पछिल्लो समय भने गाँजाले मानव स्वास्थ्यलाई पनि लाभ पुग्ने भन्दै प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाज उठिरहेको छ ।