धरान: चम्किलो रंगले पोतिएको, त्यही माथी विभिन्न कलाकृति । झट्ट हेर्दा आह ! नभन्ने कमै होलान् ।
सामान्य गमला जस्तो देखिने तर, अलिक पृथक । आकर्षक चित्रहरु कुँदिएको । यो सेरामिक गमला हो । माटोमा टक पाउडर मिसाएर गमलाको आकार तयार गरिन्छ । इलेक्ट्रीक चुला अथवा भट्टीमा दुई पटक राखिन्छ । सुरुमा ८ सय ५० डिग्रीमा राखिन्छ । ग्लेज कलर गरेपछि पुनः १ हजार ६० डिग्रीमा राखिन्छ । अनि मात्र तयार हुन्छ, सेरामिक गमला त्यसपछि विभिन्न चित्र उतारिन्छ । टक पाउडरको काम भनेको माटोले तामक्रम थाम्ने क्षमता बढाउने हो । सामान्यतया यो गमला दह्रो हुन्छ । पानीले मक्किने, सड्ने वा गलेर जादैन । सेरामिक गमलाको अर्को विशेषता भनेको यसमा विभिन्न चित्र कोर्न सकिन्छ । त्यसैले पनि सामान्य गमलाको तुलनामा धेरै आकर्षक देखिन्छ ।
सेरामिकको गमला मात्र हैन, अन्य विभिन्न सजावटको सामान पनि बनाइन्छ । सुरुमा काठमाडौंमा यसको उद्योग सञ्चालनमा आएको हो । पूर्वमा पहिलो पटक मोरङको पथरीमा करिब एक वर्ष यता सेरामिक गमलाको उद्योग सञ्चालनमा छ । स्थानीय तथा कलाकार सरोजा खड्गी, लक्ष्मी गिरी र सन्तोष राईले संयुक्त रुपमा उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले उद्योगमा करिब ६० लाख लगानी गरेका छन् । यो उद्योग सञ्चालन गर्नुमा खड्गीको मुख्य भुमिका छ । सानैदेखी चित्रकारिता क्षेत्रमा अबल उनी ३० वर्षदेखी निरन्तर यो पेशामा लागेकी छन् ।
काठामाडौंमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले सेरामिक सम्बन्धी आयोजना गरेको तालिमबाट खड्गीले यो उद्योग सञ्चालनमा ल्याउन सफल भएकी हुन् । तालिम लिएको एक वर्ष पछि यो उद्योग खोल्ने सोच पलाएको उनी बताउँछिन् । आत्मनिर्भर बन्ने मात्र हैन, आफ्नो कला, संस्कृतिलाई जगेर्ना गर्न पनि यो उद्योग सञ्चालन गर्ने सोच पलाएको खड्गी बताउँछिन् । ‘म एउटा कलाकार भएको हुनाले समाजमा केही गर्न पाएँ हुन्थ्यो भन्ने लाग्थ्यो, पहिला देखी नै म इच्छुक थिँए, अनि सेरामिक सम्बन्धी तालिम लिएँ, त्यसपछि यो उद्योग खोलियो,’कलाकार खड्गीले भनिन् ।
खड्गी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राज्ञिक सदस्य समेत हुन् उनी । उद्योग सञ्चालको लागि उनीहरुलाई पथरी–शनिश्चरे नगरपालिका र घरेलु उद्योगले समेत सहयोग गरेको उनी बताउँछिन् । आफुमा रहेको कलाकारितालाई व्यावसायिक ढंगबाट अगाडी बढाउन उद्योग सञ्चालन गरेको तर, यसबाट लोप हुन लागेको मौलिक संस्कृतिलाई जोगाउन सकिने उनको बुझाई छ । ‘सेरामिकको सामानमा कलर डिजाइनिङ गर्न सकिन्छ, विभिन्न चित्र कोर्न सकिने हुँदा आफ्नो सँस्कृति संरक्षण गर्न सकिन्छ,’उनले भनिन्,‘जस्तो भन्यो त्यस्तै बुटा भर्न सकिने र कलर डिजाइनिङ गर्न सकिन्छ ।’
सामान्य गमलाको तुलनामा धेरै बलियो र आकर्षक देखिने खड्गी बताउँछिन् । अर्डर आएको बेला जस्तो किसिमको पनि तयार गर्न सकिने उनले बताइन् । ‘टिकाउ हुन्छ, दह्रो पनि हुन्छ,’उनले भनिन्,‘विभिन्न आइटममा तयार गर्न सकिन्छ, अडर आयो भने जस्तो पनि तयार गछौं, खाने कप प्लेट, सजावटको सामान सबै बनाउन सकिन्छ ।’ सेरामिकको सामान सजावटको लागि मात्र भन्दा पनि आफ्नो संस्कृति जगेर्ना र प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका रहने उनको कथन छ ।
प्लाष्टिकको आइटमका फुलहरु राख्न सकिन्छ, अन्य सजावटका सामान बनाउन सकिन्छ । सामान्य गमलाको तुलनमा मुल्य अलिक बढी पर्छ । ‘कम्तीमा १ सय रुपैयाँदेखी २५ सय रुपैयाँसम्म पर्छ, इलेक्ट्रीको कष्ट धेरै छ, कलर पनि महंगो हुन्छ,’उनले भनिन्,‘हेनमेडको सामान महंगो हुन्छ ।’ अहिले हातले नै सबै तयार गर्दा महंगो परेको हो । तर चाडै मेसिन ल्याउने र त्यसबाट केही मुल्य घट्ने खड्गीले बताइन् । नेपालमा यसको बजार राम्रो रहेको उनको बुझाई छ । सामाजिक सञ्जालको माध्यमबाट प्रचार प्रसारमा होमिएका उनीहरु पूर्वमा राम्रो मार्केट लिइरहेको दाबी गर्छिन् । ‘भर्खर मार्केटमा छिदैछौं, धरान र विराटनगरमा बढी खपत हुन्छ, सप्लाई इण्डिभ्यूजल नै भइरहेको छ,’उनले भनिन्,‘पूर्वमा यसको मुख्य मार्केट राम्रो छ, अलिक डिपार्टमेन्टहरुमा छिर्न सकेका छैनौं ।’
स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनुपर्छ भन्ने सोच भएको ग्राहकले सेरामिक गमला लैजाने गरेका छन् । पूर्वमा आयोजना हुने विभिन्न महोत्सवहरुमा सेरामिकको उत्पादनलाई प्रदर्शनी तथा विक्रीका लागि लाने गरिएको र त्यसबाट राम्रो प्रचार भइरहेको छ । इलेक्ट्रीक भोल्टेज अप डाउन हुँदा समस्या हुनेगर्छ । मुख्य चुनौती पनि यही हो । उनीहरु सेरामिक गमला उत्पादनमा मात्र हैन, कलाकार उत्पादनमा समेत तल्लिन छन् । ‘सेरामिकको उत्पादनसंगै कलाकार उत्पादनमा जोड दिएका छौं, हाम्रो उद्देश्य भनेको कलाकार उत्पादन गर्नु पनि हो,’खड्गीले भनिन् ।