धरान : नेवार एकता समाजको ७ औं बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६ सय ५ पिन्ट रगत संकलन भएको छ ।

धरानको भानुचोकमा बुधबार आयोजित रक्तदान कार्यक्रमबाट समाजले यो बर्षको सर्वाधिक रगत संकलन गरेको हो । नेपाल रेडक्रस सोसाइटीको वीपी प्रतिष्ठानस्थित रक्त सञ्चार सेवा केन्द्रका इञ्चार्ज सुवास सिंहले भने,‘यो बर्ष रक्तदान कार्यक्रम भएकाहरुमध्ये यति धेरै एकै पटक संकलन भएको यो पहिलो हो ।’

नेवार एकता समाजले पहिलो पटक २०६९ मा वृहत रक्तदान कार्यक्रम आयोजना गर्दा २ सय ३ पिन्ट रगत संकलन भएको थियो भने दोस्रो कार्यक्रमा ४ सय ६८, तेस्रोमा ३ सय ३८ र चौथो पटकमा ५ सय ५८ पिन्ट रगत संकलन भएको थियो । ‘हाम्रो मुल उद्देश्य भनेकै धरानको वीपीमा उपचारमा आउने विरामीहरुलाई रगत अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हो । धरानलाई रक्तदाताहरुको सहर बनाउने हो,’नेवार एकता समाजका सचिव हिमाल श्रेष्ठले भने । समाजले एक हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको थियो । 

newar-ekata-blood2

रक्तदान कार्यक्रममा सहआयोजककोरुपमा जल्पादेवी बचत तथा ऋण सहकारी रहेको छ भने नेवाःदेय् दबूः, नेपाल रेडक्रस सोसाइटीको बिशेष सहयोग रहेको थियो । यस्तै, पासा खलः, लायन्स क्लब अफ धरान विजयपुर, टक्सार भोजपुर नेवाःखलः र धरान जेसिजको पनि सहकार्य रहेको कार्यक्रम संयोजक मञ्जु श्रेष्ठले जानकारी दिइन् । यसअघि धरानमा एकै दिन सबैभन्दा धेरै रगत संकलन भने बराह ज्वेलर्स इष्ड्रष्ट्रिज प्रालिले गरेको रेकर्ड छ । बराहले आफ्नो बार्षिकोत्सवको अवसरमा २०७४ सालमा आयोजना गरेको रक्तदानमा धरानमा मात्र १ हजार ५६ पिन्ट रगत संकलन गरेको थियो । बराहले त्यो बर्ष भानुचोक, जिरोपोइन्ट, श्यामचोक र रेल्वे गरी ४ ठाउँमा रगत संकलन गरेको थियो । बराहले पनि धरानलाई रक्तदाताहरुको सहर बनाउने लक्ष्य राखेर बार्षिकोत्वमा वृहत रक्तदान गर्दै आएको छ भने नेवार एकता समाजको पनि उद्देश्य त्यही रहेको छ ।