धरानः धरान उपमहानगरपालिकाले नगर क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकको सभा सम्मेलन नगर्न आग्रह गरेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसबाट पूर्वसर्तकता अपनाउने उद्देश्यले उपमहानगरले नगरबासीमा यस्तो आग्रह गरेको हो । उपमहानगरले शुक्रबार एक विज्ञप्ती जारी गदै नगर क्षेत्रभित्र कुनै पनि सभा सम्मेलन नगर्न र त्यस्तो कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक सेवा, पारिवारिक जमघट भेटघाट बाहेक अन्य कुनै पनि किसिमको मेला महोत्सव, सभा, समारोह, उत्सव पर्व (होली) नगर्न नगराउन निर्देशन दिएको थियो । समितिको यो निर्देशनसँगै उपमहानगरले यस्तो आग्रह गरेको हो ।
‘जिल्ला दैवी प्रकोप उद्धार समितिको विहीबार बसेको बैठगले अत्यावश्यक सेवा पारिवारिक जमघट भेटघाट बाहेक अन्य कुनै पनि किसिमको मेला महोत्सव, सभा, समारोह, उत्सव पर्व (होली) नगर्न नगराउन तथा यस्ता प्रकृतिका कार्यक्रममा सहभागी नहुन सम्पूर्ण नगरबासी तथा सरोकारवालाहरुलाई अनुरोध गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ । सरकारले केही दिन अघि सभा सम्मेलन नगर्न अनुरोध गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले नेपाललाई कारोनाको उच्च जोखिममा राखेको छ । चिनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वको ८४ वटा मुलुकमा देखा परेको छ ।