धरान: धरानको छाताचोक मुनि अमान बजार छ । यो बजारबारे धरानकै अधिकांश मानिसहरुलाई थाह छैन । तर, यो बजारबारे अर्गानिक तरकारीका पारखीहरुले भने उहिल्यै चाल पाएका छन् ।
यो बजारमा हरेक शनिबार अर्गानिक तरकारीको हटिया लाग्छ । यसलाई अर्गानिक शनिबारे हटिया नाम दिइएको छ । यहाँ धरानको वडा नं ४ को चर्चित अर्गानिक गाउँ वसन्तटारमा उत्पादन भएको अर्गानिक तरबारी, सागसब्जी तथा खाद्यान्नहरु उपलब्ध हुन्छ । वसन्तटारपछि पानवारीको पनि अर्गानिक उत्पादनहरु यहाँ आउछ । शनिबार बिहानै ७ बजेदेखि करिब १० बजेसम्म यो हटिया लाग्नेगर्छ । अर्गानिक अभियन्ता कृष्ण राईको गाउँ हो वसन्तटार । यहाँ उनले उत्पादन गरेको अर्गानिक तरकारीहरु पनि पाइन्छ ।
यहाँ झण्डै २ बर्ष अघिदेखि शनिबारे अर्गानिक हटिया लाग्न थालेको हो । शुरुदेखिकै ग्राहकहरु निरन्तर आइरुहेका छन् । केही ग्राहकहरु भने बिहानै मर्निङवाक गर्दै वसन्तटारमै तरकारी पनि लिन पुग्छन् । यसले अचेल यहाँ ग्राहक अलिक घटेको छ । तथापी, सहरिया मानिसहरुलाई अर्गानिक तरकारी किनेर खानुपर्छ भन्ने चेतना आउन थालेको किसानहरु बताउँछन् ।