धरान: अवैधरुपमा सर्दु खोलामा उत्खनन् गरिरहेको तीन वटा स्काभेटरलाई धरान उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
छिमेकी नगरपालिका बराहक्षेत्रले ठेक्का लगाएको भए पनि तोकिएको सिमा क्षेत्र मिचेर धरानपट्टीको सर्दु खोला क्षेत्रमा उत्खनन् गरिरहेको पाइए पछि स्काभेटर नियन्त्रणमा लिइएको हो । धरान उपमहानगरले ठेक्का समेत नलगाएको सर्दु खोला क्षेत्रमा अवैधरुपमा उत्खनन गरिरहेको भेटिएपछि नगर प्रहरीको टोली पुगेर ३ वटै स्काभेटरको चाबी नियन्त्रणमा लिइएको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार स्काभेटरको चाबी उपमहागनरपालिकामा छ भने स्काभेटर खोलामा नै छ ।
धरान उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार आइ.ई.ई.नगरेको तथा ठेक्कासमेत नलगाएको धरानको क्षेत्रमा आएर उत्खनन् गरिरहेकोले नियन्त्रणमा लिइएको बताए । छिमेकी नगर बराहक्षेत्रले आफ्नो क्षेत्रमा ठेक्का लगाएको भएपनि ठेकेदारले अवैधरुपमा धरानमा उत्खनन गरिरहेको पाइएको उनले बताए । ‘ठेकेदारको वदमासी हो । बराहक्षेत्र नगरले ठेक्का लगाएको रहेछ । तर ठेकेदारले उसको सिमा मिचेर धरानपट्टी पनि उत्खनन् गरिरहेको रहेछ,’उनले भने ।