विराटनगरः प्रदेश एकका महिला सांसदले मिडियाको प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । प्रदेश एक संसदमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले संसदको भुमिकामा अरु पुरुष सांसदहरु जस्तै जिम्मेवार भएर पनि उचित मौका नपाइरहेको गुनासो गरेका छन् ।
प्रदेश १ संसदको इलामबाट प्रतिनिधित्व गर्ने नेकपाकी सांसद खिनु लङवा लिम्बुले भनिन्,‘सबैले पुरुष सांसदलाई मात्र खोज्छन्, हामीलाई त न नेताले न पत्रकारले स्पेश दिन्छन् ।’ उनले मिडियाले नै विभेद गरेको गुनासो गरेकी हुन् । ‘क्षमता विकास एकै पटक हुँदैन,’लिम्बुको गुनासो छ,‘पुरुष सांसदहरुको नाम मिडियामा बारम्बार आइरहन्छ, महिलाको भने कतै कसैले स्पेस दिँदैनन्, अनि कसरी हुन्छ क्षमता विकास ?’
महिला सांसदहरुले बारम्बार ‘मिडिया फेस’ गरे मात्र आमसंचारका माध्यममा बोल्ने वाककलाको विकास हुने र आफ्नो आत्मविश्वास बढ्ने बताए । हजारांैं जनताको बिचमा पुुगेर भाषण गर्ने बानी भए पनि आमसंचारका माध्यममा आफ्ना भनाइ कसरी राख्ने बारे धेरै कमलाई मात्र जानकारी रहेको अर्की सांसद वसन्ती देवी यादवले बताइन् । उनले आधा आकाश ओगट्ने महिलाको नेतृत्व गर्ने वर्गलाई पुरुषलाई झैं समान स्थान दिनुपर्ने धारणा राखिन् ।
‘संसदका कतिपय विषयमा हाम्रा पनि धारणा हुन्छन्’ उनले गुनासो गरिन् ‘सबै कुरा रोस्टममै बोल्ने मात्र हुँदैनन्, पत्रकारसँग गर्ने विषय हुँदा हामीलाई कसैले वास्तै गर्दैन ।’ महिला सांसदले यस पेशामा महिलाको उपस्थिति कम भएको हुँदा आफ्ना विषयले कम प्राथमिकता पाएको अनुभुती गरेका छन् । सांसद सुनिता चौधरीको विचारमा महिला पत्रकारको संख्या बढाउनुपर्छ । उनले संसदीय रिपोर्टिङ गर्ने महिला पत्रकार बढाए मात्र आफ्ना कुरा समेटिने धारणा राखिन् ।