धरान: विश्वभर कोरोनाको कारणको मानिसहरु आवत जावतमा धेरै रोक लागे पनि नेपाल सरकारले बजारमा पर्याप्त उपभोग्य सामान तथा अन्य पदार्थहरु भएको बताइरहको छ । विदेशबाट आयात हुने सामानहरुमा पनि कुनै रोकावट छैन । तर, केही दिनयता धरान बजारमा भने खाना पकाउने ग्याँसको चरम अभाव देखिएको छ ।
धरानमा खास गरी कोशी ग्याँसको अभाव भएको उपभोक्ताहरु बताउँछन् । धेरै खपत हुने र उपभोक्ता पनि धेरै भएको ग्याँस कोशी नै हो । तर, यही कोशी ग्याँस झण्डै एक महिनादेखि अभाव भएको उपभोक्ताहरुको गुनासो छ । धरानमा धेरै डिलर पनि यही कोशी ग्याँसकै छ । तीन दिनअघि धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा बजार अनुगमन हुँदा पनि कोशी ग्याँसको डिलरहरु बन्द पाइएको थियो ।
एउटा सिलिण्डर लिन पनि एक महिनादेखि पर्खिनु परेको धरान १७ की गृहणी हेमारानी दाहालले बताइन् । उनले भनिन्,‘मैले एक महिनादेखि ग्याँस पाएको छैन । कोरोनाको कारण हो भन्छन् ।’ सोमबार कम्पनीबाट ग्याँस आउने खबर सुनेपछि उनी धरान १७ बाट वडा नं १० पुतलीलाइनस्थित ग्याँस डिलरमा पुगेकी थिइन् । धरान ७ का अर्का उपभोक्ता श्याम कार्कीले पनि कोशी ग्याँसको निक्कै अभाव भएको बताए । उनले भने,‘धेरै डिलर कोशीकै छ, तर यही ग्याँस पाइदैन । घण्टौं लाममा उभिनुपर्छ ।’
उपभोक्ताले धेरै ग्याँस स्टक गरेपछि अभाव
ग्याँसका बिक्रेता(डिलर)हरु भने कम्पनीबाट ग्याँस कम आइरहेको बताउँछन् । उनीहरुका अनुसार सातामा एक पटक मात्र ग्याँस आइरहेको छ । कोरोनाको कारण ग्याँस अभाव हुने भन्ने हल्ला चलेपछि उपभोक्ताहरुले घरमा धेरै ग्याँस जोहो गर्न थालेपछि अभाव सृर्जना भएको धरान १२, चतरालाइनका बिक्रेता भेला बराल बताउँछन् । ‘कम्पनीबाट नै ग्याँस कम आइरहेको छ, मेरोमा छैटौ दिनमा आज आयो,’बरालले भने,‘कोरोना भाइरसको हल्लाले यति साह्रो भएको हो ।’
बरालका अनुसार नाकामा चेकजाँच कडा हुन थालेपछि ग्याँस पनि आउदैन कि भन्ने सोचेर धेरै स्टक गरेपछि अभाव भएको हो । साथै, बजार अनुगमनको हल्लाले पनि मानिसहरुले घरमा धेरै ग्याँस राख्न थालेको उनको भनाई छ । 'सहज नै थियो, अहिले चै कोरोना भाइरस र अनुगमनको हल्लाले यस्तो भएको हो,'उनले भने ।