धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंकाका विरामीहरुलाई लक्षित गरी तयार गरिएको आइसोलेसन वार्डमा हालसम्म २ जनाको उपचार गरिएको छ ।

प्रतिष्ठानका अनुसार उनीहरुलाई शुरुमा नोवेल कोरोना भाइरस (कोभिड १९) को आशंकामा क्वारेन्टाइनमा राखेर उपचार गरिए पनि नतिजा भने नेगेटिभ अर्थात कोरोना नभएको आएको छ । प्रतिष्ठानमा एक महिला र अर्का पुरुष विरामीको उपचार गरेको प्रतिष्ठानको क्वारेन्टाइन शाखाले जानकारी दिएको छ । ती मध्ये पुरुष टेकु अस्पतालबाट उपचार गर्दागर्दा भागेर घर धरान आएका व्यक्ति हुन् ।

महिला विरामीलाई प्रतिष्ठानमा १४ दिनसम्म अस्पताल र घरमा पनि स्वास्थ्यकर्मीको निरीक्षणमा राखेर उपचार गरिएको थियो । उनी पुर्णरुपमा स्वास्थ्य भइसकेकी छिन् । टेकुबाट भागेर धरान आएका अर्का पुरुष विरामीको अझै प्रतिष्ठानको आइसोलेसनमा रहेका छन् । उनी गत साता कोरियाबाट आएपछि टेकु अस्पताल पुगेका थिए । आफै कोरोनाको उपचार गर्ने भन्दै अस्पताल गएका उनी त्यहाँबाट भागेपछि हचचल मच्चिएको थियो । प्रतिष्ठानमा भर्ना भएर उपचार शुरु भएपछि भने उनी डिप्रेसन भएको खुल्यो । उनलाई चिकित्सकहरुले नियमित परामर्शसँगै औषधी पनि शुरु गरेपछि अहिले सामान्य अवस्थामा फर्किएका छन् ।

ती विरामीका आफन्तले मोवाइल सम्पर्कमा कुरा गर्दै डाक्टरले घर लैजाने अनुमति दिए पनि अझै पुर्णरुपमा निको भएर मात्र लैजाने पारीवारिक सल्लाह भएकोले केही दिन अझै अस्पतालमा नै राखिने जानकारी दिए । ‘उहाँमा भएको डिप्रेसन धेरै सुधार भएर नर्मल भइसक्नु भयो, त्यही डिप्रेसनले गर्दा डराएर टेकु हस्पिटलबाट भाग्नु भएको रहेछ,’उनले भने,‘अझै पुर्ण निको भएर मात्र घर लैजाने भनेर हस्पिटलमा नै छौं ।’

उनका अनुसार ती व्यक्ति अस्पतालमा पुस्तक पढेर दिनचर्या कटाइरहेका छन् । आफुले विगतमा अध्ययन गरेको साइन्सको किताब र आफुले लेखेको थेसिस अध्ययन गरेर दिन कटाइरहेको उनका आफन्तले जानकारी दिए । ‘उहाँले एम.एस्सी पढ्नु भएको हो, त्यो किताबहरु र थेसिसहरु पढेर समय बिताइरहनु भएको छ,’आफन्तले भने ।

पुर्वतयारी भएकोले ढुक्क रहन प्रतिष्ठानको आग्रह

bpkihs-emergency

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले दुई व्यक्तिको उपचारले गर्दा प्रतिष्ठानले सम्भावित महामारीको पूर्व तयारी गर्न पाएको बताए । यसअघि संघीय सरकार र प्रदेश एक सरकारबाट स्वास्थ्य विभागका अधिकारीहरुले प्रतिष्ठानको क्वारेन्टाइन निरिक्षण गरेर गएका थिए भने आवश्यक सहयोग प्रतिबद्धता पनि दिएका छन् । ‘संघ र प्रदेश सरकारबाट निरिक्षण्का लागि सरहरु आउनु भएको थियो, वहाँहरु आउनुुपूर्वनै हामीले आफ्नो तयारी गरिसकेका थियौ,’साहले भने ।

प्रतिष्ठानले ओपिडी युनिट बाहिर छुुट्टै हेल्थ डेक्ससमेत राखेको छ । उपचार गर्न आउने विरामीको प्रारम्भिक स्वास्थ्य उपचारका लागि दुुई चिकित्सक र नर्सको टोली तैनाथी अवस्थामा हुन्छ । कसैलाई कोभिड १९ को आशंका लागेमा सिधै प्रतिष्ठानको क्वारेन्टाइनमा लगेर उपचार थालिन्छ । डाक्टर साहले यस रोगको आशंका लाग्नेवित्तिकै चिकित्सकको सुझावअनुसार १४ दिनसम्म क्वारेन्टानमा बस्न हिच्किचाउन नहुने पनि बताए ।

राम्रोसँग उपचार पाए रोग निको हुने भन्दै हतास नहुन र शंका लागेको विरामी आँफै उपचारमा आए अरुमा नसर्ने र भयावह स्थिति नआउने उनले बताए । प्रतिष्ठानले हाललाई १० विरामीलाई एक पटकमा उपचार गर्न मिल्ने क्वारेन्टाइन बनाएको छ । विरामीको स्थितिलाई हेरेर यो सँख्या बढाउने गरि गृहकार्य थालिएको र धरान उपमहानगरपालिकासँग पनि समन्वय जारी राखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।