इटहरी: इटहरी १६ स्थित हक्राहा खोलामा निर्माण हुने पुलको शिल्यान्यास गरिएको छ ।

संघीय सांसद सिताराम मेहता र इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आइतबार संयुक्तरुपमा पुलको शिल्यान्यास गरेका हुन् । यो पुल कुल ८३ लाख ७२ हजार लागतमा निर्माण हुन लागेको इटहरी उपमहानगरका इन्जिनियर अरुण राजलवटले जानकारी दिए । लगात मध्ये सांसद विकास कोषको ५० लाख र बाँकी इटहरी उपमहानगरको लगानीमा पुल निर्माण हुनेछ । शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नम्वर २ का संघीय सांसद मेहताले हुलाकी मार्ग अन्र्तगत यो पूल निर्माण पछि यसक्षेत्रका जनता लाभान्वित हुने विश्वास ब्यक्त गरे । उनले इटहरीमा बाहिरी चक्रपथ निर्माणका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता पनि जनाए ।

इटहरीका मेयर चौधरीले इटहरीमा ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि पहल भइरहेको बताए । उनले विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने पनि बताए । वडा नम्वर १६, १७ र १८ का सबै मुल बाटोहरु अवको तीन वर्ष भित्रमा कालोपत्रे गरि सक्ने पनि प्रतिवद्धता जनाए । कार्यक्रममा इटहरी वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल शाह र वडा नम्वर १६ का सदस्य शान्तिराम ओझाले उपमहानगरले गाँउका वासिन्दालाई समेत उपमहानगरवासीको अनुभूति हुने गरि विकासका कार्य गरेकोमा खुशी ब्यक्त गरेका थिए ।