धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक कर्मचारीले आजदेखि शुरु गर्ने भनिएको आमरण अनसन स्थगित गरेका छन् ।

प्रतिष्ठानका जुनियर फेरमेन पदमा कार्यरत किरणप्रसाद भटराईले आजदेखि शुरु गर्ने पुर्वघोषित अनसन स्थगित गरेका हुन् । उनले कोरोना भाइरसको कारण संवेदनशिल अवस्था भएको र सरकारले पनि संक्रमण फैलन नदिन हेल्थ एडभाइजरी जारी गरेको कारण अनसन स्थगित गर्नुपरेको बताए । जिओपिडी अगाडि आज सोमबार बिहान अनसन स्थगित गरिएको घोषणा गर्दै उनले एक सातापछि बस्ने पनि बताए ।

उनका अनुसार प्रतिष्ठान पदाधिकारीले आफुले दिएको १५ दिन अल्टिमेटम अवधिमा वार्ता वा मागहरुबारे छलफल गर्ने कुनै पहल गरेन । ‘१० बुँदे मागहरु जायज छन्, १५ दिनको समयमा पनि वार्तामा बोलाउने, कुन कुन माग पुरा गर्न सकिन्छ भनेर छलफलमा बोलाएनन्,’उनले भने,‘आजको बिहानदेखि बस्ने भनिएको आमरण अनसन कार्यक्रम स्थगित गरेर चैत १० गते सोमबारको दिनदेखि जिओपिडी भवन अगाडि बस्ने जानकारी गराउदछुँ ।’

भटराईले गत फागुन तेस्रो साता पत्रकार सम्मेलन गर्दै १० बुँदे माग पुरा गर्न १५ दिनको अल्टिमेटम दिएका थिए । भटराईले तलब वृद्धिसँगै हेल्थ एड तथा हेल्पर, अन्य कर्मचारीहरुको स्तरोन्नतिको लागि शैक्षिक तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न तथा दैनिक ज्यालादारी कर्मचारीहरुको तलब मासिक भुक्तानीको व्यवस्था गर्नुपर्ने र नियमानुसार करार तथा परफरमेन्स करार गरी थप व्यवस्थित गर्न, कर्मचारीहरुको स्वास्थ्य विमा निःशुल्क गर्न, आन्तरिक फाइल बढुवाको विज्ञापन खोल्नलगायत १० बुँदे माग राखेका छन् ।