विराटनगरः प्रदेश सरकारका मन्त्रीले कोरोना भाइरसको बिषयमा झुटो बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीको राजिनामा मागेको छ ।
सोमबार प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अस्पतालहरुमा कोरोनाको उपचारमा मन्त्रीले भनेजस्तो नभएको र झुटो बोलेको भन्दै सामाजिक विकास मन्त्रीको राजिनामा माग गरेका हुन् । ‘खोइ कोशी अस्पतालको आइसोलेसन वेड ? विरामीलाई किन धरान रेफर गरियो ?’ सोमवार संसदमा बोल्दै कार्कीले भने,‘सरकारले सरासर झुटो बोलिरहेको छ । यस्तो झुटो बोल्ने सरकारका मन्त्रीले राजिनामा दिनुुपर्छ ।’
गत शुक्रवार प्रदेश एक संसदमा सरकारले कोरोना भाइसर (कोभिड—१९) लक्षित सरकारको तयारी बारे सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो धारणा राखेका थिए । संसदको पाँचौ तथा हिउँदे अधिवेशनमा आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरले कोरोना संक्रमणलाई लक्षित गरी विराटनगरका कोशी अस्पताल, नोवेल अस्पताल र विराट मेडिकल अस्पतालमा आइसोलेसन वेडको व्यवस्था गरेको जवाफ दिएका थिए । उनले सरकारको तयारी बारे भनेका थिए,‘सरकार चुपचाप लागेर बसेको छैन, पूर्वसतर्कका लागि अन्तरिक तयारी तीव्र पारेको छ ।’
मन्त्रीको उक्त भनाईलाई कटाक्ष गर्दै सचेतक कार्कीले साउदीबाट फर्किएका मोरङ रँगेलीका विरामीलाई कोशी अस्पतालबाट धरानस्थित विपी प्रतिष्ठान रेफर गरिएकोप्रति संकेत गर्दै यसले सरकारको तयारीलाई गिज्याएको भन्दै टिप्पणी गरे । उनले वोडर्रमा सरकारले थालेको तयारीबारे समेत आलोचना गरे । ‘आजै मात्र म रानी बोडर्र पुगरे आएँ,’कार्कीले भने,‘त्यहाँ न सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सुरक्षाको प्रबन्ध छ न स्वास्थ्यकर्मीलाई ।’
सरकारको फितलो तयारीले उसको क्षमतामाथि प्रश्न उठिरहेको भन्दै आक्रमक शैलीमा प्रतिप्रश्न गरे,‘सीमामा सीमित स्वास्थ्यकर्मीले सयौँ व्यक्तिको स्वास्थ्य कसरी जाँच्ने ? के सुरक्षाकर्मीको डरले कोरोना भाग्ने हो ?’ सरकारले गफ गर्ने नभइ पुर्ण तयारीका लागि जुट्न कार्कीले आग्रह गरे । जनतालाई सरकार भएको प्रत्याभुती गराउन व्यवहार काम गर्नुपर्ने उनको तर्क थियो ।