जनकपुर: प्रदेश नम्बर २ को नाम के रहला ? यो प्रश्नको कौतुहलता आज मेटिन्छ भन्ने सबैले अपेक्षा गरेका थिए । किनभने आज मंगलबार दिउँसो प्रदेश २ को नाम र राजधानीबारे मतदान प्रक्रियाबाट टुंगो लाग्दैथियो ।

सहमतिबाट नाम टुंगो नलागे पछि आज मतदान भयो । विडम्बना के भयो भने मतदान प्रक्रियाबाट पनि २ नम्बर प्रदेशको न्वरान भएन । नामकरणको लागि चार वटा प्रस्ताव गरिए पनि प्रदेश सभाले मतदान प्रक्रियाबाट चार वटै नाम अस्वीकृत गर्यो । नेपाल कम्युनिष्ट पार्टीले जानकी नाम राख्न प्रस्ताव गरेको थियो । सबैभन्दा पहिला यो प्रस्तावमा मतदान हुदा पक्षमा ३७ मत मात्र खस्यो भने विपक्षमा ७० मत खस्यो ।

pradesh-2

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत मतदान गर्दै ।

 जानकी नाम अस्वीकृत भएपछि कांग्रेसको प्रस्ताव मिथिला भोजपुरामा मतदान भएको थियो । उक्त प्रस्ताव पनि प्रदेशसभाले बहुमतद्धारा अस्वीकृत गर्यो । कांग्रेसको प्रस्तावको पक्षमा २८ मत खस्यो भने विपक्षमा ७९ मत खस्यो । कांग्रेसको प्रस्ताव पनि अस्वीकृत भएपछि पुनः नामकरणको लागि कांग्रेस नेता राजेश्वरप्रसाद साहले मध्यमधेश प्रस्ताव गरेका थिए । उनको प्रस्ताव पनि अस्वीकृत भयो । यो प्रस्तावमा ४२ मत मात्र खसेको थियो ।

अन्त्यमा, सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रि जनता पार्टीले संयुक्तरुपमा प्रस्ताव गरेको मधेश प्रदेश को नाम पनि प्रदेशसभाले अस्वीकृत गरिदियो । मधेश प्रदेशको पक्षमा ६० मत खस्यो भने विपक्षमा ४८ मत खस्यो । नामकरणको लागि मात्र १२ मत पुगेन । २ नम्बर प्रदेशसभाको गणित अनुसार नाम र राजधानी तोक्न दुई तिहाई अर्थात ७२ मत आवश्यक छ । प्रदेशसभामा कुल १०७ सांसद छन् । ती मध्ये नाम र राजधानीबारे निर्णय गर्न दुई तिहाई मत कुनै पनि पार्टीसँग छैन । मतदानबाट दुई तिहाई पुगेन भने पुनः प्रदेश सभामा प्रस्ताव पेश गरेर मतदान गर्नुपर्ने हुन्छ ।