धरान: धरान उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् ।
सरकारले हालै सहसचिवमा बढुवा भएका विदुरप्रसाद खनाललाई धरानमा पठाएको हो । उनी सोमबारदेखि नै उपमहानगरपालिकामा आइसकेका छन् । धरान आउनुअघि उनी छिमेकी बराहक्षेत्र नगरपालिकामा थिए । उपसचिवबाट सहसचिवमा बढुवा गरेपछि उनी धरान आएका हुन् । महानगरपालिका र उपमहानगरपालिकामा निजामतितर्फको सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । सोही अनुसार धरानले लामो समय पछि सहसचिव पाएको हो ।
यसअघि उपसचिव विनोद पोखरेल निमित्त प्रमुख प्रशासकीय अधिकृतकोरुपमा रहेका थिए । सहसचिव सुमन घिमिरे जनप्रतिनिधि र विगतको स्थानीय निकाय(धरान)का कर्मचारीहरुसँगको मतभेद पछि उनी मन्त्रालयमा सरुवा मिलाएर गएपछि पोख्रेल निमित्त भएर आएका थिए । कर्मचारीहरु हत्तपत्त मन्त्रालय छोडेर स्थानीयतहमा आउन मान्दैनन् । अझ धरानमा बिशेष परिस्थिति भएकोले पनि सहसचिव आउन नमाने पछि उपसचिवबाट बढुवा गरेर पठाउनु परेको बताइन्छ ।
यहाँ विगतको स्थानीयनिकायका कर्मचारी र समायोजन भई आएका निजामति कर्मचारीहरुबीच चर्को द्धन्द छ भने कर्मचारी बढुवा सम्बन्धी विधेयकको कारण प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच पनि विगतमा सुमन घिमिरेको पालादेखि नै मतभेद छ । कार्यपालिका र नगरसभामा नेकपाको दुईतिहाई बहुमत छ भने उपनिर्वाचनबाट मेयरमा कांग्रेसले जितेको छ । यसले गर्दा काम गर्न सहज नहुने भन्दै सहसचिवहरु धरान आउन नचाहने जानकारहरु बताउँछन् ।
सरुवा भई धरान आएका प्रमुख प्रशासकीय अधिकृत खनालले आफु भर्खर धरान आएकोले बुझ्ने क्रममा रहेको बताए । व्यक्तिले नभै टिमले काम गर्ने धारणा राख्दै उनले भने,‘म भर्खर आएको छुँ, धरानलाई बुझ्ने क्रममा नै छुँ । टिमले काम गर्ने हो, व्यक्तिले होइन ।’