धरान: नेवार समुदायको महत्वपुर्ण परिकार हो, लाखमरी । यसको प्रर्वद्धन गर्नुका साथै व्यवसायिक सिप प्रदान गर्ने उद्देश्यले धरानमा तीन दिने तालिम शुरु भएको छ ।
शाक्य कल्याण संस्था धरानको आयोजनामा लाखमरी बनाउने तालिम शुरु भएको हो । तालिममा लाखामरीको साथै नेवार समुदायको विवाह, पुजा र हरेक धार्मिक कार्यमा आवश्यक हुने दुवोको माला बनाउने, नरिवल र सुपारी सजाउने तरिका पनि सिकाइने आयोजकले जनाएको छ ।
तालिम स्वयम्भू चैत्य महाविहारमा सञ्चालन भइरहेको छ । शाक्य महिला समितिको संयोजनमा आयोजित तालिममा ५० जना महिलाहरु सहभागी छन् । तालिमकी संयोजक लक्ष्मी शाक्यले लाखामरीलाई प्रर्वधन गर्नुका साथै यसको उत्पादन र व्यवसायबाट महिलाहरुले आयआर्जन गर्न सकुन् भनेर आयाजना गरिएको बताइन् । प्रमूख अतिथि एवं संस्थाका पूर्व सल्लाहकार शिला बज्रचायले पनि महिलाहरु व्यवसायतर्फ उन्मुख भएर आर्थिक उपार्जनमा लाग्न अवाश्यक भएको बताइन् ।
शाक्य महिलाहरुलाई उद्यमशिल बनाउने साथै क्षमता विकास, सामाजिकीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक शाक्य कल्याण संस्थाका अध्यक्ष अमृतमान शाक्यको भनाई छ । धरानमा लाखामरीको माग अत्यधिक छ । तर, यहाँ काठमाण्डौबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । धरानमै यसको उत्पादन हुन सके महिलाहरु व्यवसायिक हुने समाजसेवी मोहनकाजी शाक्यको भनाई छ ।