धरान:प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयको लागि लामो रुटका सवारीसाधनहरु आवतजावतमा रोक लगाउने घोषणा गरे । यस्तै, नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
कारोना भाइरस(कोभिड १९)को जोखिमलाई रोकथाम गर्न सरकारले चालेको यो कदमको सबैले स्वागत नै गरिरहेका छन् । तर, आफ्नै देशभित्र आवतजावतमा रोक लगाउने सरकारले छिमेकी मुलुक भारतसँगको सिमाना बन्द नगरेको प्रति भने सर्वसाधारणहरुले असन्तुष्टी प्रकट गरिरहेका छन् । छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण भइसकेको छ । त्यसैले सरकारले सिमा नाका बन्द गर्न ठोस कदम चाल्नुपर्ने देखिन्छ । यो किन पनि आवश्यक छ भने नेपाल भारत सिमा खुल्ला छ ।
धरानका महेश्वर राई ताम्लाले सामाजिक सञ्जालमार्फत ‘देशभित्र यातायात बन्द गर्ने सरकारले भारतीय सिमा नाका खुल्ला राखेको ?’ भन्दै चर्को असन्तुष्टी प्रकट गरेका छन् । उनले दोस्रो पोष्टमा भनेका छन्,‘सरकार किन चुक्छौं ?भारतीय सिमा नाका खुल्ला राख्ने हो भने हामी मात्र क्वारेन्टाइन बस्नुको कुनै तुक र अर्थ नहुने स्पष्ट छ । ’ भारतसँगको नाकाहरु बन्द नगरिदा विभिन्न उद्देश्यले नेपाल आउने जाने क्रम रोकिएको छैन । भारतमा रहेका नेपालीहरु पनि अहिले धमाधम स्वदेश फर्किरहेका छन् । अन्र्तराष्ट्रिय उडान बन्द गरिएकोले हवाई माध्यमबाट संक्रमण भित्रन नसक्ला, तर भारतसँगको सिमाना बन्द नगरिदा पैदल मार्गबाट नेपाल आउने व्यक्तिबाट कोरोनाको संक्रमण भित्रिने जोखिम छ ।
त्यसो त, शुक्रबार प्रधानमन्त्री ओलीको सम्बोधन अघि प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न तत्काल पहल गर्ने निर्णय गरेको थियो । साना नाकाहरुमा आवतजावत कडाई गर्ने र तत्काल बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले ‘सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने र यसको लागि छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने’ बताएका थिए । यो सम्बोधनले सिमानाका बन्द गर्न सरकारले चाहेर पनि नसकेको हो कि भन्ने देखाउछ ।