विराटनगर:प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गरेका छन् ।

आज आइतबार क्वारेन्टाईनस्थल पुगेर मुख्यमन्त्री राईले निरीक्षण गरेका हुन् । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो । क्वारेन्टाईनस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । मुख्यमन्त्री राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताए ।

मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आजबाट बन्द गरेको जानकारी गराए । साथै ठुला नाकाहरुमा आवागमनमा कडाई गर्ने जानकारी पनि दिए । उनले त्यहाँको चेकपोष्टहरुलाई कडाई तथा प्रभावकारी बनाउने बताए । प्रदेशमा निर्माण हुने ५० शैय्याको आइसोलेशन वार्डको निर्माण एक हप्ता भित्रमा सम्पन्न गर्ने पनि मुख्यमन्त्री राईले जानकारी दिए । प्रदेशका नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट बचाउन उच्च प्राथमिकतामा राखिएको र प्रदेशका आवश्यक्ता अनुसार क्वारेन्टाइन र आइशोलन वार्ड निर्माण गरिएको बताए ।