धरान: धरान उपमहानगरपालिकका मेयर तिलक राईले वीपी प्रतिष्ठानमा कोरोना परीक्षणको ल्याब शुरु हुनु राम्रो भए पनि नगरबासीमा मनोवैज्ञानिक असर पर्ने भएकोले स्वाबको नमुना मात्र यहाँ पठाउने व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

हिजोको दिन वीपीले स्वाब नमुना लिएर परीक्षणको लागि काठमाण्डौं पठाए जस्तै प्रदेश एकको अन्य अस्पतालबाट पनि यहाँ नमुना मात्र परीक्षणको लागि ल्याउने व्यवस्था हुनुपर्ने माग गरेका हुन् । ल्याबको निरीक्षण भ्रमणमा आएका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग मेयर राईले यस्तो आग्रह गरेका हुन् । ‘वीपीले जे जति भएको भार खेप्नुपर्ने जस्तो देखिएको छौं । भए भरको विरामी वीपीमा मत्र आयो भने मनोवैज्ञानिक असर यहाँका नगरबासीमा पर्नसक्छ,’उनले भने,‘हिजो वीपीमा ल्याब थिएन, स्वाब लिएर काठमाण्डौ पठाउथ्यौं, त्यस्तै हुनुपर्यो । प्रदेशको अन्य अस्पतालमा जनशक्ति छन्, त्यही स्वाब लिएर यहाँ टेष्ट गर्न मात्र पठाइदिनुपर्छ । प्रदेश सरकारबाट समन्वय हुनुपर्छ ।’

औषधी छर्किन माग

मेयर राईले अन्यत्र औषधी छर्किरहेको जस्तै संक्रमणको प्रभावित क्षेत्रमा छर्किने व्यवस्था गर्न पनि आग्रह गरेका छन् । उनले सबै बजारतिर सम्भव नभए पनि कोरोनाको उपचार भइरहेको वीपी प्रतिष्ठान जस्तो प्रभावित क्षेत्रमा औषधी छर्किने व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । ‘बजारतिर छर्किनुपर्छ भन्ने होइन, तर वीपी प्रभावित क्षेत्र हो । यस्ता जोखिमको क्षेत्र, अस्पतालहरुमा छिट्नुपर्छ,’उनले भने । गत साल धरानबाट डेंगु महामारी शुरु भएको भन्दै मेयर राईले अहिलेदेखि नै प्रदेश सरकार, वीपी प्रतिष्ठानले पनि डेंगुप्रति ध्यान दिन पनि आग्रह गरे ।

सैनिक आवासियमा सय बेड क्वारेन्टाइन बनाइने

मेयर राईले वडा समिति र सैनिक आवासिय मावि धरान १३ फुस्रेमा सय बेड क्वारेन्टाइन तयार गरिने पनि जानकारी दिए । त्यहाँ यसअघि नै ६२ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ भने ४० वेड थप गरेर सय बेड बनाउने उनले बताए । यस्तै, संघीय प्रहरी ईकाई कार्यालयमा १० बेड तयारी अवस्थामा रहेको र अझै १०–१५ बेड थप्न सकिने पनि बताए । उनले वीपी प्रतिष्ठान, उपहामनगरपालिका र नेपाली सेनाबीच समन्वय गरेर एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीहरुहरुको लागि पिपिई बनाइरहेको पनि बताए ।