धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमित एवं संक्रमण आशंका गरिएका व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिपिई(पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) अतिजरुरी पर्छ । तर, अहिले विश्वभरि फैलिएको कोरोना संक्रमणको कारण पिपिईको चरम अभाव छ ।

नेपालमा पनि कोरोनाको संक्रमित विरामीहरु देखिन थालेका छन् । तर, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पर्याप्त पिपिई उपलब्ध नहुँदा असुरक्षित महसुस गरीरहेका छन् । आइतबार वीपी प्रतिष्ठानका स्टाफ नर्स र कर्मचारीहरुले लिखितरुपमा नै अस्पताल व्यवस्थापनसँग पिपिईको माग गरेका छन् । सर्वत्र पिपिई अभाव भइरहदा धरान १३ स्थित सैनिक आवासिय महाविद्यालयमा भने नेपाली सेनाका एक अधिकृतले स्थानीय स्रोत साधन एवं घरेलु सामग्रीहरु प्रयोग गरेर पिपिई तयार गरेका छन् । उनले बनाएको पिपिई सैनिक आवासिय विद्यालयमा रहेको क्वारेन्टाइनमा प्रयोग समेत भइरहेको छ ।

धरानमा सबैभन्दा पहिला स्थानीय उपलब्ध सामग्रीहरु प्रयोग गरेर वीपी प्रतिष्ठानका डाक्टरहरुले नै पिपिई बनाएका थिए । तर, उनीहरुले बनाएको पिपिई प्रयोग भयो कि भएन भन्ने खुलेको छैन । उनीहरुकै नमुना पिपिई अनुसार सैनिक विद्यालय हातामा रहेको सेनाका अधिकृतले थप परिष्कृत गर्दै पिपिई तयार गरेका हुन् । पिपिई तयार गर्न धरान उपमहानगरपालिकाले पनि ती अधिकृतलाई सहयोग गरेको छ । धरानका मेयर तिलक राईका अनुसार कोरोना संक्रमणको आशंका मात्र भएका व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुलाई भन्दा पनि प्रत्यक्ष सम्पर्कमा नरहने सफाईकर्मी, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको लागि यो पिपिई तयार गरिएको हो ।

PPE-1

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु संक्रमित नभए पनि उनीहरुको आसपासमा रहनेहरुलाई सुरक्षित महसुस गराउन पिपिई बनाइएको हो । यो पिपिई क्वारेन्टाइनसम्म पुर्याउने एम्बुलेन्सका चालक, क्वारेन्टाइनका सफाई मजदुर र खाना पुर्याउने व्यक्तिहरुलाई प्रयोग भइरहेको छ । ‘प्रत्यक्ष सम्पर्कमा नआउनेहरुलाई दिइएको छ । सतप्रतिसत प्रमाणित होइन तर सुरक्षित महसुस दिलाउछ र केही प्रतिशत भएपनि जोखिम कम हुन्छ । किटाणु भए सिधै सम्पर्कमा आउदैन,’सेनाका एक अधिकृतले भने ।

पिपिई एक पटक मात्र प्रयोग गर्न मिल्छ । एक पटक प्रयोग गरिसके पछि तत्काल नष्ट गरिहाल्नुपर्ने हुन्छ । जस्तो कि क्वारेन्टाइनमा बसेकालाई खाना पुर्याउन जादा लगाएको पिपिई नष्ट गरिहाल्नुपर्छ । तर, सफाईकर्मीले सफाईको काम सकेलगत्तै नष्ट गर्नुपर्नेहुन्छ । ‘सैनिक आवासिय विद्यालयमा यही तयार भएको पिपिई प्रयोग भइरहेको छ,’स्रोतले भन्यो ।