विराटनगर: कोराना भाईरस संक्रमणको आशंका गरिएका १५ जनाको हिजो सोमबार स्वाब नमुना संकलन गरिएको छ ।
प्रदेश नंं. १ का विभिन्न अस्पतालमा नमूना संकलन गरि सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताका अनुसार प्रतिष्ठानमा कोरोनाको परीक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो हुने बताए । उनका अनुसार प्रदेश नं. १ बाट आजसम्म कुल ४३ जनाको नमूना संकलन भएको छ ।
नमुना संकलन गरिएका मध्ये २८ जनाको रिपोर्ट आएको छ । ति सबै २८ जनाको रिपोर्ट नेगेटिभ आएको पनि प्रवक्ता डा. मेहताले बताए । उनका अनुसार आजसम्ममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २५, कोशी अस्पताबाट ७, उदयपुर अस्पतालबाट १, मेची अस्पतालबाट ४, संखुवासभा अस्पतालबाट १ , फिदिम अस्पतालबाट ४, सोलु अस्पतालबाट २ जनाको नमूना संकलन भएको छ ।
यस्तै मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण सम्बन्धि विभिन्न सामाग्रीहरु वितरण गरेको छ । मन्त्रालयले आजसम्म पीपीई सेट ३ सय थान, आईआर थर्ममिटर १७ थान, मास्क २२ हजार २ सय थान, ग्लोब्स १८ हजार ६ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय २१ थान र पीपीई गाउन ३७ वटा वितरण गरेको प्रवक्ता डा. महेताले बताए ।