धनकुटा: धनकुटा नगरपालिकाकाले लकडाउनको समयमा विपन्न एवं निम्न वर्गहरुलाई राहतको नाममा कसैलाई पनि राहत संकलन तथा वितरण गर्नबाट रोक लगाएको छ ।

आज नगर प्रमुखको अध्यक्षतामा उपप्रमुख, वडाध्यक्ष्य, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको उपस्थितिमा बसेको नगरको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अनुमति विना नगरपालिका क्षेत्र भित्र कुनै ब्यक्ति, संघसंस्था लगायत कसैले पनि नगदी, जिन्सी सामान राहतको रुपमा कोही कसैलाई उपलब्ध गराउन नपाउने निर्णय गरेको छ । साथै, राहतको नाममा नगदी जिन्सी संकलन गर्न समेत नपाउने निर्णय पनि गरेको छ । नगरपालिकाको समन्वयमा एकद्धार प्रणाली मार्फत मात्र राहात उपलब्ध गराउने निर्णय धनकटा नगरको बैठकले गरेको छ । विभिन्न जिल्ला तथा नगरहरुमा लकडाउनको बेला पनि जथाभावी राहत संकलन र वितरण भइरहदा धनकुटाले यस्तो निर्णय गरेको हो ।

यस्तै, नगरपालिकाले लकडाउनले दैनिकी गुजारामा समस्या भएका विपन्न परिवारलाई राहत दिने निर्णय गरेको छ । बैठकले नगरभित्र रहेका विपन्न सुकुम्बासी, दैनिक ज्यालादारी काम गरेर बिहान बेलुकी छाक टार्ने मजदुर र श्रोतविहिन भएर आपत परेका परिवारको वडागत रुपमा विवरण लिएर राहत गराउन नगरपालिका सिफारिस गर्ने निर्णय गरेको मेयर चिन्तन तामाङले जानकारी दिए ।

dkt-co

बैठकले राहत सामग्रीको कम्बो प्याक तयार गरी वडातहबाट नै वितरणको ब्यवस्था मिलाउने निर्णय गरेको छ । राहतको प्याकमा मन्सुली र पानमारे मन्सुली चामल २५ केजी हुनेछ भने मुसुरो दाल २ केजी, सनफ्लावर तेल १ लीटर, आयो नुन १ केजी, हातधुने साबुन १ वटा (डेटोल र लाइफब्याय) हुनेछ ।

यसैगरि, कोरोना भाइरस (कोभिड १९) संक्रमण हुन नलिन १० वटै वडामा विदेशबाट १५ दिन अगाडी सम्म आएका ब्यक्तिहरुको पहिचान गरी वडाहरुले नियमितरुपमा तथांक नगरपालिकामा पठाउने निर्णय गरेको छ । साथै, उनीहलाई आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाई हिडडुल र सम्पर्कमा कडाई गर्ने एवं १५ दिन बढी भएकाहरुको स्वास्थ्य अवस्था अनुगमन गरी रिर्पोटिङ्ग गर्ने निर्णय गरेको छ । यसैगरि, वडा नं ६ मा रहेको क्वारेन्टाइनको ब्यवस्थापन विपद् ब्यवस्थापन समितिसँगको समन्वयमा गर्ने पनि निर्णय गरेको छ ।