धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने ल्याबको रिपोर्ट आउन थालेको छ ।
प्रतिष्ठानका अनुसार यहीको ल्याबमा परीक्षण गरिएका ४ जनाको थ्रोट स्वाबको रिपोर्ट आज आएको हो । प्रतिष्ठानले नै लिएको स्वाबको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार प्रतिष्ठान आफैले लिएको कुल २३ जनाको स्वाबको सबै रिपोर्ट नेगेटिभ नै आएको छ । ती मध्ये १९ वटा काठमाण्डौंस्थित ल्याबमा परीक्षण गरिएको हो भने वीपीमै ४ वटा परीक्षण गरिएको हो ।
प्रतिष्ठानमा ३ दिनअघि कोरोना परीक्षण गर्ने ल्याब स्थापना भएको थियो । यहाँ ल्याब सञ्चालनमा आएपछि प्रदेश एकसँगै प्रदेश २ लाई पनि कोरोना परीक्षणको लागि स्वाबको नमुना अब काठमाण्डौं पठाउनुपर्ने बाध्यता हटेको छ । यसले समय र खर्च पनि जोगाएको छ भने रिपोर्ट चाडै आउन थालेको छ ।
यस्तै, प्रतिष्ठानमा आज मध्याह्नसम्म १३ जना हेल्प डेस्कको सम्पर्कमा आएका छन् । उनीहरुलाई सेल्फ आइसोलेसनमा पठाइएको पनि प्रतिष्ठानले जनाएको छ । हालसम्म कुल १६४ जना हेल्प डेस्कमा आएका छन् । ती मध्ये १४० जनालाई सेल्फ आइसोलेसनमा पठाइएको छ भने १४ जनालाई सरकारले स्थापना गरेको क्वारेन्टाइनमा पठाइएको छ ।
यस्तै, प्रतिष्ठानको आइसोलेसनमा एक नयाँ विरामी थपिएका छन् । प्रतिष्ठानको गाइनोमा आएकी एक महिलालाई राती आइसोलेसनमा राखिएको हो । हाल वीपीको आइसोलेसनमा रहेकाको संख्या २ जना भएका छन् । यसअघि ९ जना डिस्चार्ज भएर घर फर्किसकेको पनि प्रतिष्ठानले जनाएको छ ।