धरान: लकडाउनको कारण घर जान नपाएर होस्टल तथा डेरामा रहेका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई महेन्द्र बहुमुखी क्याम्पस, धरानस्थित नेवि संघ इकाई कमिटिले खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

लकडाउनले समस्यामा परेका विद्यार्थीहरुको डेरामा नै पुगेर संघले आज राहत वितरण गरेको हो । संघका कार्यवाहक सभापति एवं स्ववियु सचिवसमेत रहेका दोर्ची शेर्पाको नेतृत्वमा सम्पर्कमा आएका विद्यार्थीहरुलाई १० दिनसम्म पुग्ने चामल, तेल, दाल, नुनलगायत अत्यावश्यक खाद्यसामाग्री सहयोग गरेको हो । शेर्पाका अनुसार सम्पर्कमा आएका क्याम्पसको होस्टेलमा बसोबास गर्ने र डेरामा बस्नेसहित ३५ जनालाई सहयोग वितरण गरिएको हो । भविष्यमा पनि सहयोग निरन्तर हुने शेर्पाले बताए ।