धरान: धरान १७ बाट बुधबार दिउँसो आमा–छोरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना हेल्प हेस्कमा पुगे । चिकित्सकहरुले समस्याबारे बुझ्दा करिब १७ बर्षकी छोरीलाई सामान्य ज्वरो मात्र आएको रहेछ ।

विश्वभर नै अहिले कोरोना भाइरस(कोडिभ १९)को संक्रमण तीब्ररुपमा बढीरहेको छ । संक्रमणको सबैभन्दा बढी जोखिम भिडभाड र अस्पतालहरुमा छ । त्यसैले नेपालमा पनि लकडाउन गरिएको छ भने आकस्मिकबाहेकका अस्पताल सेवाहरु पनि बन्द छ । तर, यही उच्च जोखिम क्षेत्रमा अझै पनि मानिसहरु सामान्य स्वास्थ्य समस्या हुँदा पनि पुग्ने गरेका छन् । ‘ज्वरो नाप्न भनेर आमा छोरी हेल्प हेस्कमै आएका रहेछन् । छोरीलाई हल्का ज्वरो मात्र थियो,’प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले भने,‘अझै पनि मानिसहरुमा जनचेतनाको अभाव देखिन्छ । यसतर्फ जनप्रतिनिधिहरुले पनि ध्यान दिनुपर्ने भयो ।’

Ashok-Air

वीपी प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐर ।

मेडिकलबाट थर्मोमिटर किनेर घरमै राखेर ज्वरो नाप्न सकिन्छ । समस्या आइपरे हेल्प लाइन नम्बरहरुमा आवश्यक सम्पर्क गरेर परामर्श गरेपछि मात्र अस्पताल आउन वीपीले आग्रह गरेको छ । तर पनि मानिसहरु जोखिम क्षेत्र अस्पतालमा आइनै रहेको डा.ऐरले बताए । ‘अहिलेको अवस्थामा हस्पिटल नआउनुस्,झन् खतरा हुन्छ । केही समस्या परे जनप्रतिनिधिलाई सम्पर्क गर्नुस्,’डा.ऐरले भने,‘हाम्रो अनुरोध छ, यो सबेला सहयोग गर्दिनुस् । कोरोनाको एक मात्र हतियार भनेको लकडाउनको नियम पालाना गर्नु हो । मानिसहरुसँग दुरी राख्नुस् । अस्पताल संक्रमणको झन् जोखिम क्षेत्र हो । त्यसैले घर नै सुरक्षित छ । केही समस्या परे फोनमै सम्पर्क गरेर उपचार गर्नुस् ।’

छिमेकी मुलुक भारतमा नै लकडाउनलाई अवज्ञा गर्दा संक्रमणको दर बढ्दै गइरहेको र त्यो नेपालको लागि पनि चुनौती भएकोले सबै गम्भीर हुन डा.ऐरले आग्रह गरे । ‘भारतमा संक्रमितहरुको संख्या बढीरहेको छ, लकडाउनको पालना नहुदा यो अवस्था आयो,’उनले भने,‘कोरोनाविरुद्धको लडाई भनेको सरकार, स्वास्थ्यकर्मी र प्रहरीको मात्र होइन, आम जनसमुदायको नै हो । तपाई हामी सबैले सहयोग गरेनौं भने रोकथाम गर्न सम्भव छैन ।’

bp-help-line