धरान: लकडाउनको समयमा धरानको कृषि बजारका केही सिमित व्यापारीहरुले सिण्डिकेट कायम गरेर महंगोमा तरकारी बिक्री गरिरहेको आरोप वडाअध्यक्षले लगाएका छन् ।
धरान ९ का अध्यक्ष रत्न कटवालले यो बिषय हिजो बिहिबार भएको कार्यपालिका बैठकमा पनि उठाएको बताएछन् । आफ्नो वडामा केही व्यापारीहरुले इनरुवालगायत ठाउँबाट सस्तोमा तरकारी पाइरहेकोले आफुहरुलाई अनुमति दिए सस्तोमा ल्याएर उपभोक्तालाई दिने भनिरहेको अध्यक्ष कटवालको भनाई छ । 'केही व्यापारीले हामीलाई स्वीकृति दिनुस्, सस्तोमा ल्याएर दिन्छौं भनिरहेको छ । इनरुवामा १५ रुपैया फुलकोपी छ, हामी जनतालाई २५ मा दिन्छौ भन्दैछ । हामीले अहिले ४० देखि ५० रुपैयामा बेच्दैछ,'अध्यक्ष कटवालले भने, 'कृषि बजारमा सिण्डिकेट भयो, जनतालाई मार्ने काम भयो ।'
उनले आपतको बेला पनि सिमित व्यापारीहरुले मात्र फाइदा लिने काम भएको भन्दै असन्तुष्टी जनाए । जनता र कृषक दुवैले राहत नपाएको उनको भनाई छ । 'सिमित सिण्डिकेटको व्यापारीले फाइदा लिनुभएन । कि कृषकले पैसा पाउनुपर्यो कि जनताले राहत पाउनुपर्यो,'कटवालले भने,' कार्यपालिकामा कुरा राखियो, मेयर साबले कृषिसँग कुरा गछौं भन्नुभएको छ ।' उनका अनुसार ५ रुपैया किलो मुला लिएर कृषिले २० रुपैया रेटमा बेचिरहेको छ । अन्य तरकारीहरुमा पनि उनले यस्तै भइरहेको बताए ।
वडा नं १३ का अध्यक्ष एवं कृषि बजार सञ्चालक समितिका पदेन सदस्य नेत्र काफ्लेले पहिलो, दोस्रो दिन ठिकै भएपनि तेस्रो दिन इनरुवामा फुलकोपीको मुल्य घटेपनि रेट समायोजन नगरिएको स्वीकारे । तर, अन्य तरकारीमा भने हिजोको बजार भाउ भन्दा पनि धेरै कम उपभोक्ताहरुलाई परिरहेको उनले बताए । उनले १० प्रतिशत मात्र मार्जिन राखेर गाडी भाडा र ढुवानी जोडिएको बताए । 'हिजो व्यावसायीहरुले २५, ३० र ४० प्रतिशतसम्म मार्जिन राख्नुहुन्थ्यो । यसले जनतालाई राहत नै दिलाएको छ,'काफ्लेले भने,'वडा नम्बर ९ को अध्यक्ष ज्युले उठाउनु भएको कुरा कृषि सञ्चालक समितिमा कुरा गर्छु । फेरि यस्तो वातावरण भयो भने कारवाहीको प्रक्रिया पनि अघि बढाउछौं ।'
लकडाउनको समयमा तरकारी किन्न भिडभाड हुने गरेको र खुद्रा व्यापारीहरुले अत्यधिक मुल्य लिन थालेपछि उपमहानगरपालिकाले खुद्रा तरकारी पसल बन्द गराएको छ । जनतालाई राहत दिन वडाहरुमा गाडीबाट तरकारी पुर्याउन थालिएको थियो । अहिले धरानका वडाहरुले आफ्ना वडाको विभिन्न चोक एवं स्थानहरुमा तरकारी बेच्न स्वीकृति दिइएको छ ।