धरान: एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने डेंगु ज्वरोको एक जना विरामी धरानमा भेटिएको छ ।
गर्मी मौषम शुरु भएसँगै यो सिजनमा डेंगुका विरामी भएको पहिलो व्यक्ति धरानमा भेटिएको हो । धरान ७ स्थित होटल सन्ध्या इनका सञ्चालक रविन अधिकारीको गाडीका चालकलाई डेंगु भएको पुष्टि भएको छ । केही दिनदेखि असाध्यै टाउको दुख्ने र ज्वरो आउने भएपछि निजी क्लिनिकमा जाँच गराउदा डेंगु भएको रिपोर्ट आएको अधिकारीले बताए । 'टाउको दुख्छ, आँखा निस्केला जस्तो हुन्छ, ज्वरो पनि असाध्यै आउछ भनेपछि चेक गर्न लगाएको थिएँ, डेंगु भएको पुष्टि भयो,'अधिकारीले भने,'मैले वडा अध्यक्षलाई पनि भनेको छुँ । अब हामी सबै सचेत हुनुपर्छ ।'
गत बर्ष धरानमा डेंगुको महामारी फैलिएको थियो । धरानबाट शुरु भएको डेंगु अन्य छिमेकी नगर र जिल्लाहरुमा पनि विरामीहरु देखिएको थियो भने धरानमा नियन्त्रण बाहिर भएपछि महामारी नै घोषणा गर्नुपरेको थियो । यसपाली पनि गर्मी मौषम शुरु भएपछि समयमा नै प्रदेश सरकार र स्थानीय तहले डेंगु नियन्त्रणमा ध्यान दिनुपर्ने आवाज उठ्दै आएको छ ।
एडिस लामखुट्टेले दिनमा मात्र टोकेर डेंगु सार्ने भएकोले दिउँसो आवश्यक सर्तकता अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । एडिस लामखुट्टे सफा पानीमा बस्ने भएकोले आफ्नो घर वरीपरी पानी जमिने खालको सामानहरु राख्न हुदैन । यस्तै, दिउँसो लामखुट्टेबाट टोकिनबाट जोगिनुपर्छ । त्यसको लागि लामो बाहुला भएको कपडा लगाउने, लामखुट्टे भगाउने क्रिम दल्ने उपाय लगाउनुपर्छ । घर वरीपरी फालेको खाली बट्टा, फुटेको कप, टायर, बोतलहरुमा पनि पानी जम्न दिनुहुदैन किनभने सफा पानीमा यो लामखुट्टे बस्छ ।
डेंगु ज्वरोको मुख्य लक्षणहरु
डेंगु ज्वरोका मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ । ज्वरोको साथसाथै आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, शरीरमा विमिरा आउने र रक्तस्राव हुने पनि लक्षण देखिन्छ । यस्तै जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने पनि हुन्छ ।
चिकित्सकहरुका अनुसार ज्वरो आउनुका साथै २ भन्दा बढी लक्षणहरु देखापरेमा डेंगु ज्वरो भएको हुनसक्छ । यसबाहेक वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का(निलडाम) देखापर्ने, बेहोस हुने लगायत लक्षणहरु पनि देखापर्न सक्छ । यस्ता लक्ष्मणहरु देखा परेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन जान चिकित्सकहरुको सुझाव छ ।