विराटनगर: कोरोना भाइरस(कोभिड १९) विरुद्ध पुर्वतयारीमा जुटेको प्रदेश सरकारले स्थापना गरेको ५० बेडको कोरोना बिशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोशी अस्पताल अन्र्तगत रहने गरी कोरोना विशेष अस्पतालकोरुपमा विकास गरेको हो । अस्पतालमा १० बेडको भेन्टिलेटरसहित आइसियु कक्ष पनि छ । आजदेखि अस्पताल पुर्णरुपमा सञ्चालनमा आएको मुख्यमन्त्री शेरधन राईका प्रमुख स्वकिय सचिव नवराज राईले जानकारी दिए । मुख्यमन्त्री राईले अस्पतालको स्थलगत निरीक्षण गर्नुका साथै वस्तुस्थितिबारे जानकारी पनि लिएका थिए । मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोना भइरस (कोभिड १९) विरुद्ध लडन पुर्णरुपमा तयार अवस्थामा रहेको बताएका थिए । साथै उनले कोरोना विरुद्ध प्रदेशका सबै क्षेत्रसंग सहकार्य गरिने पनि बताए । 'विश्वमा महामारीकोरुप लिइरहेको छ, हामीले प्रदेशबासीलाई जोगाउन सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको छौं,'मुख्यमन्त्री राईले भने ।

corona-hospital-pradesh1

प्रदेश सरकारले विज्ञ चिकित्सकहरुको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका समाग्री र आपूर्तिको लागि अध्ययन गरिरहेको पनि मुख्यमन्त्री राईले जानकारी गराएका थिए । यस्तै क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा र खानेबस्ने व्यवस्था सरकारले मिलाएको पनि उनले खुलाए । अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश नं १ उच्च जोखिममा रहेको बताउँदै मुख्यमन्त्री राईले यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल पनि गरे । कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेट डा संगिता मिश्रले विरामीको चाप बढेमा अस्पतालको बेड थपिने बताइन् । यहाँ कोरोना पोजेटिभ देखिएका विरामीहरुलाई मात्र उपचार गरिने व्यवस्थ छ । प्रदेश सरकारको मन्त्रीपरिषदको चैत ९ गतेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो ।

corona-hospital2