धरान: घरमा नै बसिबसि आफु कोरोना संक्रमणको जोखिममा भए नभएको जानकारी गराउने उपयोगी एप्स धरानका युवाहरुले तयार गरेका छन् ।
कोभिड १९ धरान नाम दिइएको उक्त एप्स कोड इट, वि-धराने र प्रिमियर नेपालका युवाहरु मिलेर तयार गरेका हुन् । यो एप्स धरान उपमहानगरपालिकालाई उनीहरुले निःशुल्क तयार गरिदिएका हुन् । आइतबार धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, विदुर खनाल, कोड इटका सिईओ सजल श्रेष्ठ, मार्केटिङ प्रमुख गगन नेपालीले संयुक्तरुपमा लञ्च गरेका थिए । अहिले विश्वमा नै कोरोना भाइरसले आतंक सृर्जना गरिरहेको र यो बेला एकअर्काबीचमा दुरी कायम गर्नुपर्ने भएकोले एप्प अत्यन्त उपयोगी सावित हुने कोड इटका सिइओ श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार धरानेहरुले आफु र आफ्नो परिवारको स्वास्थ्य स्थिति एप्सको माध्यमबाट जानकारी गराउन सक्छन् । एक जनाले डाउनलोड गरेको एप्सबाट परिवारको सबैको जानकारी गराउन सकिन्छ । त्यसरी दिइएको जानकारी वडा कार्यालय र उपमहानगरको स्वास्थ्य महाशाखालाई पनि तत्काल जानकारी पुग्ने भएकोले कुनै समस्या भए वा कोरोनाको सम्भावित लक्षण छ भने तत्काल पहिचान पनि हुन्छ । ‘एप्समा जवाफ दिदै जादा तपाईको स्वास्थ्य अवस्था के छ भन्ने रिजल्ट आइहाल्छ । तपाईलाई कोरोनाको लक्षण वा जोखिम छ भने पनि तत्काल वडा कार्यालय वा स्वास्थ्य महाशाखाले जानकारी पाउछ, र सम्पर्क गर्न सहज हुन्छ,’सिईओ श्रेष्ठले भने,‘कसैले वडाका जनप्रतिनिधि, मेयर वा उपमेयरलाई सम्पर्क गर्नुपर्ने भयो भने पनि त्यही त्यो अप्सन पनि छ । तपाईसँग नम्बर नभए पनि त्यहीबाट कल गर्नसक्नु हुन्छ ।’
एप्समा धरानको फुड बैंकमा क कस्ले कति सहयोग गर्यो भन्ने अटोमेटिक अपडेट पनि देख्न सकिन्छ भने कसैलाई राहत आवश्यक भएको देखेमा तत्काल एप्समार्फत सम्बन्धित निकायमा जानकारी गराएर राहत दिलाउन पनि सकिन्छ । कोही व्यक्ति कोरोनाको शंकास्पद देखिएमा पनि रिपोर्ट गर्न सकिन्छ । यस्तै, वीपी प्रतिष्ठानको हेल्प लाइन पनि एप्समा उपलब्ध भएकोले त्यहीबाट कल गरेर आवश्यक स्वास्थ्य परामर्श लिन सकिन्छ । हाल यो एप्स धरान उपमहानगरपालिकाको वेभसाइट (https://www.dharan.gov.np/?p=2538) बाट डाउनलोड गरेर एन्ड्रोइट मोवाइलमा प्रयोग गर्न सकिन्छ । गुगल प्ले स्टोरमा प्राविधिक समस्याले गर्दा तत्काल भने उपलब्ध नभएको कम्पनीले बताएका छन् ।
धरानका मेयर राईले विपदको समयमा धराने युवाहरुले स्वतःस्फुर्तरुपमा एप्स तयार गरेकोमा खुशी व्यक्त गरे भने सबैलाई धन्यवादसमेत दिए । उनले धरानबासीहरु सबैलाई एप्सको प्रयोग गर्न पनि आग्रह गरेका छन् । यो एप्स सजल श्रेष्ठ, संगम शाक्य, गगन नेपाली र सुभम शर्माको समुहले तीन दिनको छोटो समयमा यो एप्सको विकास गरेका हुन ।
एप्सले कसरी काम गर्छ ?
आफ्नो मोबाइलमा एप्स डाउनलोड गरी आफु र आफ्नो परिवारका सदस्यहरुको स्वास्थ्य स्थिति भर्न सकिन्छ । सबै जानकारी मोबाइलमा भरीसकेपछि कोरोनाका लक्षण देखिए एप्सले आवश्यक सुरक्षा सावधानी अपनाउदै वीपी प्रतिष्ठानको हेल्प लाइनमा सम्पर्क राख्नको लागी सुझाव दिन्छ । तीन तह सुपरिवेक्षण प्रणाली रहेको यस एप्स्मा प्रयोगकर्ताले भरेको सम्पूर्ण जानकारी सम्बन्धित वडा कार्यालयका पदाधिकारीहरुले मुल्यांकन गरेर सम्भावित संक्रमित व्यक्तिलाई सम्पर्क गरी आवश्यक सहयोग पुर्याउन सक्नेछन् । साथै केन्द्रिकृत रुपमा धरान उपमहानगर पालिकाको स्वास्थ्य महाशाखाले कोरोनाका संक्रमणका सम्भावना रहेका, कोरोनाका लक्षण देखिएका व्यक्तिहरुलाई के- कस्तो सहयोग पुर्याइयो, त्यसको विश्लेषण र उनीहरुलाई सम्पर्क गरी थप सहयोग, स्वास्थ्य सल्लाह प्रदान गर्न सक्नेछन् ।
यस एप्सबाट आफ्नो घर छिमेकमा भर्खरै बिदेशबाट घर फर्केका, कोरोना संक्रमणका लक्षण देखिएकाहरुको जानकारी पनि सम्बन्धित वडाका जनप्रतिनिधिलाई गराउन सकिन्छ साथै आफ्नो घर छिमेकमा अति बिपन्न बर्गका परिवार भोकै देख्नु भएको खण्डमा एप्सको प्रयोग गर्दै सो सूचना वडा कार्यालयसम्म पुर्याउन सकिन्छ । धरान उपमहानगर पालिकाले स्थापना गरेको फुड बैंकमा हालसम्म जम्मा भएको सहयोग र राहत समितिका सदस्यहरुसंग पनि एप्स प्रयोग गरि सिधै सम्पर्क गर्न सकिन्छ ।
एप्सका विशेषताहरु :
# आफु सन्चो भएको र नभएको जानकारी गराउन सकिने
# कोरोना सम्बन्धित लक्ष्यणहरु भएको या नभएको जानकारी पाउन सकिने
# कोरोना भाइरसको बारेमा जानकारी पाउन सकिने
# कोरोना भाइरस सम्बन्धि प्राय सोधिने प्रश्न उत्तरहरु पाउन सकिने
# आफु बाच्ने र अरुलाई बचाउने तरिकाबारे जानकारी पाउन सकिने
# विश्वभरको पछिल्लो कोरोना संक्रमितहरुको संख्या जानकारी पाउन सकिने
# विदेशबाट आएका वा कोरोना संक्रमणका सम्भावित व्यक्तिहरु आसपास भए जानकारी गराउन सकिने
# आवश्यक स्वास्थ्य संस्था अन्तर्गतको नम्बर र हेल्पलाइनमा सजिलै सम्पर्क गरी परामर्श लिन सकिने
# सम्बन्धित वडाका जनप्रतिनिधिसंग सजिलै सम्पर्क गर्न सकिने
# आसपास भएका विपन्न व्यक्तिहरुको सहि पहिचान गराउनु मद्दत गर्न सकिने
# फुड बैंक मा राहत दिनको लागि राहत समितिमा सिधै सम्पर्क गर्न सकिने
# सम्पूर्ण धरानभित्र संकलन भएको खाद्यान्न सहयोगको नामावली सहित जानकारी पाउन सकिने