विराटनगर: प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन सप्लाई भेनमार्फत सेवा वितरणको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ ।

आइतबार संकट व्यवस्थापन केन्द्र प्रादेशिक समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालयहरु, सुरक्षा निकायहरुको सहयोगमा सप्लाई भेनमार्फत सेवा वितरणको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै, सोही बैठकले संघीय सरकारको निर्णय वमोजिम अत्यावश्यक उपभोग्य वस्तु तथा खाद्यान्नहरुको अभाव हुन नदिन जोखिम नहुने गरी उद्योगहरु सञ्चालनको वातावरण तयार गर्ने पनि निर्णय गरेको छ । यसको लागि उद्योगहरुको सुची तयार गरि आ आफ्नो कार्य क्षेत्रमा पर्ने उद्योगहरु सञ्चालन गर्न सम्बद्ध मन्त्रालयहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

बैठकले कोरोना बाहेकका अन्य बिरामीहरुलाई उपचार सेवाबाट वञ्चित हुन नदिन प्रदेश भित्र त्यस्ता अस्पतालहरुको विवरण संकलन गर्ने र सेवा प्रदान निरन्तरता गराउन तथा एम्बुलेन्स सुविधा समेतको व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । जस्तोसुकै बिरामीहरुलाई लकडाउन अवधिभर सेवा उपलव्ध गराउने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ ।
प्रदेश सरकार मार्फत वितरण हुने गरि विभिन्न व्यक्ति, संस्था, दाता वा निकायहरुबाट प्राप्त भएको राहत सामग्रीहरु विपन्न परिवारहरुमा प्रभावकारी ढंगबाट वितरण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

प्रश्न गर्ने भन्दा पनि काम गर्ने बेला हो: मुख्यमन्त्री राई

प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले अहिले जिम्मेवार निकायहरुले प्रश्न गर्ने भन्दा पनि काम गर्ने बेला भएको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारका हरेक निकायहरुले कोरोना महामारीविरुद्ध एकजुट भएर लड्ने समय भएको बताएका हुन् ।

उनले यो समय प्रश्न गर्ने, आरोप प्रत्यारोप गर्ने र बाटो हेराहेर गर्ने नभएको पनि धारणा व्यक्त गरे । सरकारका हरेक निकाय, सामाजिक संघ सस्था, वित्तिय क्षेत्र सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढेमात्र कोरोना महामारी विरुद्धको अभियानमा सफलता मिल्ने पनि मुख्यमन्त्री राईको भनाई थियो । प्रदेश सरकारले कोरोना विरुद्धको अभियानलाई तीव्र रुपमा अगाडि बढाएको पनि मुख्यमन्त्री राईले बताए ।

नागरिकमा सचेतना फैलाउने, आपूर्तिको व्यवस्थापन गर्ने, संक्रमित हुन नदिनका लागि सुरक्षा व्यवस्था मिलाउने, संक्रमित भइहाले परीक्षण र उपचार गर्ने लगायतका तयारीहरु प्रदेश सरकारले गरेको पनि मुख्यमन्त्री राईको भनाई थियो । प्रदेशको सुरक्षा र आपुर्ती व्यवस्थालाई चुस्त बनाउन स्थानीय तहहरुसँग समन्वय भइरहेको पनि उनले बताए । यस्तै, स्थानीय तहले नसके प्रदेश र संघबाट आपूर्ति गरिने मुख्यमन्त्री राईले बताए । अहिले राहत वितरण अव्यवस्थित रहेकोले त्यसलाई एकद्वार प्रणालीबाट वितरण गरिने र त्यसलाई कडाइका साथ लागु गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।