धरान: सरकारले तेस्रो पटक लकडाउनको समय थप गर्ने तयारी गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलन नदिन आज दिउँसो बस्ने मन्त्रीपरिषद बैठकले लकडाउन लम्ब्याउनेबारे निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसे २ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन् । आइतबार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठक भएको थियो । उक्त बैठकमा पनि लकडाउनको समय थप गर्नेबारे छलफल भएको बताइएको छ । खासगरी सुदुरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण जोखिम उच्च भएकोले सरकार गम्भीर भएको हो । आज थप एक साताको लागि लकडाउन लम्ब्याउन निर्णय हुने बताइएको छ ।

नेपालका नौं जना कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती मध्ये एक जना निको भइसकेका छन् भने अन्य उपचाररत अवस्थामा छन् । पछिल्लो पटक तीन जना कोरोना पोजेटिभ व्यक्ति भेटिएको थियो । ती मध्ये एक जना विदेशबाट आएका व्यक्तिको आफन्त थिए । पहिलो पटक स्थानीयमा भाइरस संक्रमण भएको पुष्टि भएपछि नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको र समुदायमा थप फैलिन नदिन लकडाउनको समय थप गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ । यसअघि सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म पहिलो पटक लकडाउन घोषणा गरेको थियो भने पछि थप संक्रमित व्यक्ति देखा परेपछि २५ गतेसम्म लकडाउन सरकारले लम्ब्याएको थियो ।