धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाबको नमुना परीक्षण क्षमता बढाउदै लगिएको छ ।
शुरुवातदेखि १२ वटा मात्र हुदै आएको स्वाबको परीक्षण आज भने बढेर १७ वटा पुगेको छ । प्रतिष्ठानको माइक्रोवायोलोवी विभागको ल्याबमा आज एकै पटक १७ वटा थ्रोट स्वाबको नमुना परीक्षण भएको छ । ती सबैको रिपोर्ट पनि नेगेटिभ नै आएको प्रतिष्ठानले जनाएको छ । विभागका एडिस्नल प्रोफेसर डा.नारायण भट्टराईले नमुना धेरै आएमा परीक्षण पनि बढाउदै लगिने बताए । ‘स्वाबको नमुना धेरै संकलन हुदै गयो भने हामी पनि टेष्टको संख्या बढाउदै लैजान्छौं । हिजोसम्म १२ वटा संकलन गरेर मात्र गरौं भन्ने थियो, आज १७ वटा नै टेष्ट गर्यौं,’उनले भने ।
प्रतिष्ठानका अनुसार आजसम्म प्रतिष्ठानको ल्याबमा ६५ वटा स्वाबको नमुना परीक्षण भएको छ । ती सबैको रिपोर्ट नेगेटिभ नै आएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार ५ वटा नमुना संकलन भएको छ । त्यसको परीक्षण रिपोर्ट आउन बाँकी छ । यस्तै, प्रतिष्ठानको आइसोलेसनमा एक जना भर्ना भएको पनि सहप्रवक्ता डा.ऐरले जानकारी दिए । साथै, एक जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।