धरान: धरानका मेयर र तीन वडाका अध्यक्षहरुले आफुले पाउने सेवासुविधा वापतको रकम उपमहानगरपालिकाको राहत कोषमा जम्मा गरेका छन् ।
मेयर तिलक राईले उपनिर्वाचन ताका घोषणा गरेअनुसार सेवा सुविधा नलिएको र राहत कोषमा जम्मा गरेको बताए । उपमहानगरपालिकामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष, माघ र फागुन महिनाको एक मुष्ट एक लाख ४६ हजार ४ सय ८० रुपैया राहत खातामा जम्मा गर्ने बताए । उनले आफ्नो सेवासुविधा वापतको रकम प्रयोजनको लागि ५ सदस्यीय समिति बनाएका छन् ।
सोही समितिले हालसम्म बैंक खातामा जम्मा भएको रकम राहत कोषमा दिने निर्णय गरि पठाएको मेयर राईले जानकारी दिए । ‘मैले पहिला नै सेवा सुविधा नलिने घोषणा गरेको थिए । सेवासुविधा वापतको रकम विपन्न र आवश्यक कार्यमा खर्च गर्ने गरि समिति बनाएको थिएँ । सोही समितिले अहिलेसम्मको रकम राहत कोषमा दिने निर्णय गरि पठाएको छ,’मेयर राईले भने ।
मेयर राईले अन्य केही वडाका अध्यक्षहरुले पनि आफ्नो सेवा सुविधा राहत कोषमा दिने जानकारी गराएको बताए । मेयर राईका अनुसार वडा नं १४ का अध्यक्ष कृष्ण भटराईले ३ महिनाको सेवासुविधा वापतको रकम राहत कोषमा दिने भएका छन् भने वडा नं १८ का अध्यक्ष प्रविण राईले २ महिनाको र वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुले एक महिनाको सेवा सुविधाबापतको रकम कोषमा दिने भएका छन् । मेयर र तीनै जना वडाअध्यक्षहरु नेपाली कांग्रेसबाट निवार्चित भएका हुन् ।