धरान:कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनले विपन्न परिवारलाई समस्या हुन थालेपछि स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुबाट राहत वितरणको क्रम चलिरहेको छ ।
सोही क्रममा समस्यामा परेका परिवारहरुको लागि नेपाल कम्युनिस्ट पार्टी १२ नम्बर वडा कमिटिले धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयलाई राहत सामग्री वितरण गरेको छ । नेकपा वडा कमिटीले ५ सय केजी चामल, १ सय केजी दाल, ५० केजी न्युटेला, १ सय ४४ थान हात धुने सावुन र १ सय ५० केजी नुन प्रदान गरिएको वडा कमिटी अध्यक्ष भोलानाथ वरालले जानकारी दिए ।
उनका अनुसार वडा कमिटिले वनभोजको लागि भनेर रकम छुट्याएको थियो । अहिले विश्वभरी नै कोरोनाको संकट आइपरेको र नेपालमा पनि लकडाउनले गर्दा अतिविपन्न परिवारहरुलाई हातमुख जोड्न समस्या भएकोले सोही रकमले राहत वितरण गरेको उनले बताए । 'कोरोना भाइरसको प्रकोप अगाडि नै योजना बनाएर रकम छुट्याएका थियौ, विपति आएपछि वनभोजको रकम करिव ४० हजार रुपैया राहतमा लगायौं,'उनले भने । नेकपा वडा कमिटीले राहत सामग्री धरान १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ब्रह्मज्ञ भट्टराईलाई प्रदान गरिएको थियो ।