धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा ७५ दिनसम्मलाई पुग्ने ४५ लाख किलो भन्दा बढी चामल स्टक रहेको जनाएको छ ।
लकडाउनको कारण खाद्यान्न अभाव हुन थालेको गुनासो आएपछि संघले यथार्थ अवस्था पत्ता लगाउन गठन गरेको समितिले यो तथ्य निकालेको हो । समितिले तयार गरेको विवरण अनुसार बिहिबारसम्म ४५ लाख ३० हजार केजी चामल धरानमा स्टक रहेको अवस्थामा पाएको जनाएको छ । समितिका संयोजक एवं संघका वाणिज्य सचिव सिताराम आचार्यले चामलको यो परिमाण धरानलाई ७५ दिनको लागि पर्याप्त हो । ‘धरानको जनसंख्या १ लाख ५० हजार मान्दा प्रतिदिन प्रतिव्यक्ति ४ सय ग्रामको दरले चामल खपत हुँदा प्रतिदिन ६० हजार केजी खपत हुने रहेछ । यो ४५ लाख ३० हजार केजीले ७५ दिन धरानलाई पुग्ने रहेछ,’उनले भने ।
यस्तै, धरानमा १७ हजार ६ सय ४७ केजी नुन भएको पनि समितिले जनाएको छ । नुन पनि धरानमा ७५ दिनलाई पुग्ने रहेको संयोजक आचार्यले बताए । यसैगरि, १० हजार ५ सय लिटर खानेतेल र ९६ हजार ९ सय केजी विभिन्न जातको दालहरु स्टक रहेको पनि संघले जनाएको छ । दालमा मुसुरी दाल कम्ती छ भने कालो दाल, रहर दाल, चनाको दाल, मुगको दाल सबै गरेर यो परिमाण रहेको संयोजक आचार्यले बताए । ‘दाल ६० दिन पुग्छ, तेलले ३० देखि ३५ दिनसम्मलाई पुग्छ,’उनले भने,‘उद्योगहरु सञ्चालन हुन थालेकोले सामान आउन थालेको छ । तेस्रो मुलुकबाट आउने मुसुरी दाल मात्र काम छ ।’ संघले वाणिज्य सचिव आचार्य संयोजक रहेको ३ सदस्यीय उपसमिति गठन गरेर खाद्यान्नको अवस्थाबारे अध्ययन गर्ने जिम्मा दिएको थियो । समितिमा व्यवसायीहरु पवन पोद्दार र सन्तोष अग्रवाल सदस्य थिए ।