धरान: इञ्जिनियरहरुको दुई संस्थाले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन स्वाब कलेक्सन बुथ तयार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरेको छ ।
नेपाल इञ्जिनियरीङ एशोसिएशन प्रदेश नम्बर एक र सेन्टर फर डमोक्रेटिक इञ्जिनियर्स नेपाल(सिडेन) ले तयार गरेर वीपी प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । विश्वभर कोरोनाको सन्त्रास फैलिएको र अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीहरु नै संक्रमणको उच्च जोखिममा भएकोले सुरक्षाको लागि स्वाब कलेन्सकन बुथ तयार गरेर प्रदान गरिएको इञ्जिनियरीङ एशोसिएशनका प्रदेश सचिव विकास भटराईले बताए । ‘स्वास्थ्यकर्मी सुरक्षित हुनुपर्छ भन्ने मान्यता अनुसार यो बुथ हामीले तयार गरेका हौं । वीपीका डाक्टरसँग आवश्यक समन्वय गरेर नै हामीले बनाइदिएको हो,’उनले भने,‘उहाँहरुको सुरक्षामा एकदमै उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौं ।’
बुथमा एयर टाइट गरिएकोले भित्र हावा पनि प्रवेश गर्न र निस्कन पाउदैन । त्यसको लागि भेन्डिलेसन प्रयोग गरिएको छ । त्यो पनि संक्रमण नहुने गरी व्यवस्था गरिएको छ । साथै, भित्रबाट माइक प्रयोग गरेर कुराकानी गर्ने व्यवस्था छ । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले डाक्टरहरुलाई सुरक्षितरुपमा काम गर्न एकदमै सहज हुने बताए । प्रतिष्ठानका डाक्टर मधुर बस्नेतका अनुसार बुथलाई व्यवस्थितरुपमा मिलाएर राख्ने काम भइरहेको र तयार भएपछि भित्रबाट स्वाब कलेक्सन गर्न सहज हुने बताए ।
विरामीसँग प्रत्यक्ष सम्पर्क नहुने साथै हावा पनि भित्र छिर्न नपाउने व्यवस्था भएकोले संक्रमणको जोखिम ज्यादै कम हुने उनले बताए । ‘स्वास्थ्यकर्मीहरुलाई अहिले फुल पिपिई लगाउनुपर्ने बाध्यता छ, त्यसको लागि धेरै खर्च गर्नुपर्छ । सहजै पिपिई पनि पाइदैन,’डा.बस्नेतले भने,‘बुथ सुरक्षित हुने गरि बनाइएको छ, भित्रबाट स्वाब लिदा मास्क मात्र भएपनि हुन्छ । पिपिई आवश्यक पदैन, र यसले पिपिई हाहाकार भएको बेला स्रोतसाधनको जोहो पनि हुन्छ ।’