विराटनगरः औषधी व्यवसायीहरुले ढुवानीमा समस्या परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई ध्यानाकर्षण पत्र दिँदै व्यवसायीले अति आवश्यकीय औषधी खरिद गर्दा सुरक्षाकर्मी र प्रशासनबाट असहयोग भएको गुनासो गरेका हुन् । औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मि प्रसाद तिम्सिनाले भोलीका दिनमा आइपर्ने अभावको जानकारी गराउन र सरकारले पहल गरिदिन सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए । ‘हामीलाई यस्तो असहयोग भइरहने हो भने पूर्वी नेपालमा औषधी अभाव हुने निश्चित छ,’उनले भने । व्यवसायीहरुले विरगञ्ज र काठमाण्डौमा स्टक भएको औषधी ल्याउन गाह्रो परेको बताएका छन् । अरु बेला कुरियर गरेर ल्याइने औषधी यो बेला भने लकडाउनको कारण आँफै ल्याउनुपर्ने बाध्यता छ ।
मन्त्री घिमिरेले व्यवसायीको समस्या सुनेर सरकारले सक्दो पहल गर्ने बचन दिएका छन् । ‘अतिआवश्यकीय वस्तुमा पर्ने औषधी अभाव हुनै दिनुुभएन,’उनले भने,‘व्यवसायीलाई परेको बाधा फुुकाउन सरकारले तत्पर छ ।’ अहिले विराटनगर, धरान, इटहरी लगायतका सहरमा औषधी पसलहरु खुलिरहेका छन् । तर मुटु रोग, मृगौला लगाएत रोगका बिरामीले नियमित सेवन गर्ने औषधीको अभाव भए मानिसको ज्यानै जान सक्ने भन्दै व्यवसायीले सरकारलाई सचेत गराएका छन् । ‘औषधी ढुवानी र औषधी पसलसम्म जान अवरोध नभए भोलीको दिनमा हुने औषधी अभाव टर्ने थियो’,औषधी व्यवसायी संघ कोशीका अध्यक्ष कुमार खतिवडाले भने,‘हामी ज्यान जोखिम मोलेरै भएपनि सेवा दिन तत्तपर छौँ, सरकारले हामीलाई सहयोग गर्नुुपर्यो ।’