विराटनगर: प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेष्ट पनि शुरु भएको छ ।
यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । धेरै ठुलो संख्यामा टेष्ट गर्नुपर्दा यो विधि अपनाइने गरिएको छ । स्वास्थ्यकर्मीले संकलन गरेको कुल ९३ नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताएका थिए । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत संचालनमा आईसकेको छ । कोरोना परीक्षणको लागि नमुना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि स्वाबको नमुना परीक्षणको प्रबन्ध गरिएको छ । सरकारले विभिन्न स्थानमा संचालन गरेका क्वारेन्टाइन राखिएका सर्वसाधारणको नमूना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन् ।
शनिबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ९२ पुगेको छ । शनिबार ३९ जना थपिएका छन् । आइसोलेसन बेडमा जम्मा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा ३ हजार ४ सय १७ जना बसिरहेका छन् । आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना डिस्चार्ज भएको कोरोना सूचना डेस्कले जनाएको छ ।