धरान: नेकपा प्रदेश नम्बर १ कमिटि सदस्य तथा लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मुक्साहाङ्ग मेन्याङ्गवोले धरान १५ मा राहत वितरण गरेका छन् ।

उनले शनिवार धरानको १५ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर राहत वितरण गरेका हुन् । धरान उपमहानगरपालिकाले उपलव्ध गराएको खाद्यान्नले राहत वितरण गर्न अपुग भएको जानकारी पाएपछि वडासँग समन्वय गरेर राहत सामग्री सहयोग गरेको मेन्याङ्गवोले जानकारी दिए  उनले धरान १५ स्थित सुसन टोलका १ सय ७८ विपन्न घर परिवारलाई राहत वितरण गरेका थिए । उनीहरुलाई १० केजी चामल, ४ केजी आलु, १ लिटर तेल, एक केजी नुन, दाल र एक थान सावुन पनि राहत स्वरुप उपलव्ध गराइएको थियो । यो राहत उनले व्यक्तिगतरुपमा २ लाख बराबरको उपलब्ध गराएका हुन् । 

wada-15-rahat

धरान १५ मा वडा कार्यालयको लगत संकलन अनुसार २ हजार ६ सय ४५ विपन्न परिवार छन् । उपमहानगरपालिकाको फुड वैंकमार्फत १२ सय ७५ घर परिवारको लागि मात्र राहत आएको १५ नम्बर वडाध्यक्ष नरेश इवारमले जानकारी दिए । उपमहानगरबाट विपन्नको लगत अनुसार राहत नआए पछि वडा आफैले व्यवस्थापन गरेर १ हजार ७ सय ३८ घर परिवारलाई राहत प्रदान गरेको उनले बताए । साथै, वितरण गर्न बाँकी रहेको करिव एक हजारको लागि पनि वडा आफैले व्यवस्थापन गर्न पहल गरिरहेको उनले बताए । राहत वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल, सुनसरीका इन्चार्ज पुर्ण भुजेल चिन्तन, युवा संघ सुनसरी अध्यक्ष भुवन याक्खा, धरान १५ न. वडा जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

wada-15 4