धरान: प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीले नयाँ बर्ष २०७७ को अवसरमा सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख भण्डारीले आइतबार शुभकामना सन्देश जारी गर्दै थप जोश, जाँगरको साथ सामाजिक तथा आर्थिक समृद्धि एवं राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तीको संकल्पसहित अघि बढ्नुपर्ने समयमा बिषम परिस्थितिबाट गुज्रनुपरेको उल्लेख गरेका छन् । उनले विश्वलाई नै आक्रान्त बनाई रहेको कोरोना भाईरस (कोभिड १९) को महामारीको संत्रासबारे उल्लेख गर्दै सानो गल्तीले पनि अवस्था भयावह बन्ने तर्फ सचेत रहन पनि अपिल गरेका छन् । साथै, यो कठिन एवंं संकटको अवस्थाबाट उन्मुक्ति प्राप्त गर्न नयाँ बर्षको आगमनले सबै नेपालीहरुलाई एकताबद्ध भई उच्च मनोबलका साथ सम्भव सबै उपायहरु अबलम्वन गर्दै लागि पर्न प्रेरणा प्राप्तीको पनि कामना गरेका छन् । ‘कठिन परिस्थीतिमा पनि यो महामारी नियन्त्रणका निमित्त अहोरात्र लागि रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सम्बद्ध सबै पक्षहरुमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु,’सभामुख भण्डारीद्धारा जारी सन्देशमा भनिएको छ ।

सभामुख भण्डारीले नयाँ बर्षले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै देशको स्थायीत्व, विकास र समृद्धिको लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्ती गर्न पनि निरन्तर क्रियाशिल रहन उर्जा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् । ‘नयाँ बर्षको प्रारम्भ सँगै हामी नेपालीहरु बिच सदियौं देखि रहदै आएको एकता, भातृत्व, सद्भाव अझ कसिलो बन्दै विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को हाम्रो राष्ट्रमा हुन सक्ने संभावित महामारीलाई रोक्दै राष्ट्रिय अखण्डता, राष्ट्रियता, तथा राष्ट्रको विकास र समृद्धिको पक्षमा साझा लक्ष्यका साथ अगाडी बढने प्रेरणा प्राप्त होस भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’शुभकामना सन्देशमा भनिएको छ । 

subhakamana