धरान: छिटोछरितो रिपोर्ट आउने विधि रयापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) धरानमा पनि शुरु भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमाफर्त र्यापिड टेष्ट किट उपलब्ध भएपछि धरानमा पनि कोरोना भाइरस(कोभिड १९) पत्ता लगाउन यो विधिबाट परीक्षण शुरु भएको हो । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रदेश सरकारले जिल्ला स्वास्थ्यमार्फत आज सोमबार सय वटा र्यापिट टेष्ट किट उपलब्ध गराएको छ । यो टेष्ट किट कोरोना संक्रमण प्रभावित देशहरुबाट आएका मानिसहरुलाई परीक्षण गर्न सरकारले उपलब्ध गराएको हो । धरानमा करिब डेढ सयको संख्यामा विदेशबाट आएकाहरुको तथ्यांक संकलन भएको छ ।

rapid-test

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार आज फुस्रेस्थित क्वारेन्टाइनमा कार्यरत ३ जना स्वास्थ्यकर्मीसहित ८ जनाको र्यापिड टेष्ट गरिएको थियो । पाँच जना क्वारेन्टाइनमा बसिरहेकाहरु हुन् । उक्त टेष्टबाट सबैको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई घरविदा दिइएको छ भने अरु स्वास्थ्यकर्मीहरु त्यहाँ खटिएका छन् । ‘हामीलाई जति र्यापिड टेष्ट किट चाहिने हो, त्यो सरकारले दिने भएको छ,’स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने,‘अब भोली मंगलबारदेखि विदेशबाट आएकाहरुको र्यापिड किटबाट परीक्षण शुरु हुन्छ ।’ यो किटबाट १५ मिनेटभित्रै रिपोर्ट आउछ ।