धरान: वराह ग्रुप प्रालिले कोरोनको नियन्त्रण, उपचार तथा राहत कोषमा १९ लाख रुपैया सहयोग गरेको छ ।
गु्रपले धरान उपमहानगरपालिका कोराना राहत कोषलाई ७ लाख ६० हजार रुपैया सहयोग गरेको हो भने संघीय सरकारको कोभिड १९ उपचार, नियन्त्रण कोषमा ११ लाख ४० हजार रुपैया सहयोग गरेको हो । उक्त रकम बराबरको चेक वराह ग्रुपका अध्यक्ष शिव लामिछानेले धरानका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । संघीय सरकारको लागि दिइएको रकम मेयर राई मार्फत राज्य कोषमा जानेछ ।
उक्त सहयोग रकम वराह ग्रुपका २५ वटा कम्पनीका पदाधिकारी र कर्मचारीहरुबाट संकलन गरिएको ग्रुपका अध्यक्ष लामिछानेले बताए । संकटको समयमा वराह ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वबाट नहट्ने र आउदो दिनमा पनि वराहको सहयोग निरन्तर रहने उनले बताए । धरानको राहत कोषमा अहिलेसम्म २९ लाख ६० हजार रुपैया संकलन भएको सुचना अधिकृत खगेन्द खतिवडाले जानकारी दिए । सो रकम लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारको राहतमा खर्च गरिने उपमहानगरले जनाएको छ ।
धरान सभागृहमा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर मञ्जु भण्डारी, वराह ग्रुपका प्रदेश १ सचिवालय प्रमुख मान वहादु विक, ग्रुपका प्रदेश १ सचिवालय सदस्य सचिव गंगा कालिकोटे, ग्रुपका सचिवालय सदस्य स्वराज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।